जनकपुरमा सत्तारुढ फोरमले जलायो अदालतको आदेशपत्र

 

द पब्लिक टुडे समाचारदाता-
जनकपुरधाम, चैत्र २६ गते ।
सर्वोच्च अदालतले गृह मन्त्रालयले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन भनि गरेको परिपत्रलाई कार्यान्वयन नगर्न जारी गरेको आदेशको विरोध गर्दै जनकपुरमा प्रदर्शन भएको छ । सर्वोच्च अदालतले जारी गरेको आदेश विरूद्ध समाजवादी विद्यार्थी फोरम धनुषाले विरोध प्रदर्शन गरेको छ ।

जन्मसिद्ध तथा जन्मको आधारमा नागरिकता सर्वोच्च अदालतले दिन भनेको केही दिन नबित्दै पुनः सर्वोच्च अदालतले नै नागरिकतामा रोक लगाएपछि सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालको भातृ सङ्गठन समाजवादी विद्यार्थी फोरम धनुषाले मंगलवार बेलुका जनकपुरको भानु चोकमा सर्वोच्च अदालतको आदेशको प्रतिलिपि जलाएको हो ।

समाजवादी विद्यार्थी फोरम धनुषाको उपाध्यक्ष विकास यादवको अगुवाईमा अदालतको निर्णय मधेसविरोधी भएको भन्दै फोरमले सर्वाेच्चले वंशजको नागरिकता जारी नगर्न गृह मन्त्रालयको नाममा जारी गरेको आदेशको प्रतिलिपि जलाइएको हो ।

प्रदर्शनका क्रममा युवाहरुले सर्वोच्च अदालतको निर्णय तत्काल सच्याउन माग गरेका थिए । फोरम कार्यकर्ताले सर्वोच्च अदालतको निर्णय नसच्याए आन्दोलन चर्काउने धम्की समेत दिएका छन् ।

विरोध प्रदर्शनमा सत्रुधन यादव, धर्मेन्द्र यादव, दिपु कापर , आमिन राइन, बलिराम कापर, गौतम यादवलगायत समाजवादी विद्यार्थी फोरमका नेता तथा कार्यकर्ताहरू सहभागी थिए।

Scroll to Top