धनगढी, चैत्र २८ गते : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बल प्रयोग गरेर भए पनि देशभरका अस्पताल सञ्चालन गर्ने बताएका छन्। ‘भएको सहमति विपरित सरकारलाई घुडा टेकाउँछु भनेर डाक्टरले व्यवहार गर्ने ?’, आक्रोशित हुँदै मन्त्री पण्डितले भने, ‘सरकार कसैको पनि दया माया नगरेर कडा रुपमा प्रस्तुत हुन्छ।’
प्रेस क्लव धनगढीले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले कानुनअनुसार सरकारले डाक्टरलाई कारवाही गर्न सुरु गरिसकेको तर्क गरे। ‘अबको निकास भनेको बल प्रयोग गरेर अस्पताल सञ्चालन गर्ने हो’, उनले भने, ‘डाक्टरलाई बोलाएर सबै प्रश्नको सुनुवाई सरकारले पहिले नै गरिसकेको छ।’ डाक्टरका सेवा सुविधा नघट्नेलगायत सबै कुरामा सहमति भइसकेको उनले बताए।
राष्ट्रको सामु खाएको सपथअनुसार अगाडि नबढेमा सरकारले कारवाही गर्ने उनले बताए। हिजोको जस्तै केन्द्रमा बसिरहन्छु भनेर कसैले पनि नसोच्न उनले सबैलाई आग्रह गरे।