उदाउँदो सूर्यलाई अर्घ दिदै चैती छठ सम्पन्न

Facebook
Twitter
WhatsApp
Print

पुनम कुमारी सिंह-
जनकपुरधाम, चैत्र २९ गते ।
धार्मिक आस्था, श्रद्धा एवं विश्वासका साथै शुद्धता र सामाजिक सद्भावको उत्कृष्ट पर्वको रुपमा मनाइने चैती छठ महोत्तरी लगायत सम्पूर्ण मिथिलाञ्चलमा शुक्रवार उदाउँदो सूर्यलाई अर्घ दिँदै सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन शुक्रवार बिहान तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सा लगायत मिथिलाञ्चलभरिको जलाशयमा उदाउँदो सूर्यलाई अर्घ अर्पण गरियो ।

चैती छठ पर्व महोत्तरीका जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिबास लगायत अन्य शहरी एवम् ग्रामीण क्षेत्रमा रहेका विभिन्न पोखरी, तलाउ तथा जिल्लाका प्रसिद्ध नदी बिग्ही, रातो मरहा, जङ्गहा, अङ्कुसी नदी तथा नहरको किनारमा धार्मिक विधिपूर्वक मनाइएको छ । यस्तै, जनकपुरको गंगासागर, धनुषसागर अङराजसर, दशरत तलाउ, दूधमतीसहितका पोखरी, नदी, तलाउ र ईनारमा चैती छठ पर्व अन्तर्गत उदाउँदो सूर्यलाई अर्घ दिइएको हो ।

अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीको महत्वपूर्ण पर्व चैते छठ पर्व अन्तर्गत बिहीवार अस्ताउँदो सूर्यलाई र शुक्रवार उदाउँदो सूर्यलाई अर्घ दिइएको थियो । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिनसम्म मनाइने चैते छठ पर्वको पहिलो दिन नुहाएर चोखो भई खाने विधिलाई नहाय–खाय भन्ने गरिन्छ । खासगरी महिलाहरूले मनाउने यस छठ पर्वमा छठ पर्व प्रारम्भ भएसँगै चोखो चनाखो भएर सम्पूर्ण विधिहरू गर्नुपर्ने मान्यता रही आएको जनकपुरधाम उप– महानगरपालिका–१४ बस्ने सुनिता सिंह बताउँछिन् ।

भागवान् सूर्य देवको उपासना गरिने छठमा व्रतालुले व्रत संकल्प गरेको भाकल अनुसारको केरा, उखु, भान्टा, दूध, माटोको हात्ती, ढकनी, चढाउने परम्परा रहेको छ । छठ पर्वको मुख्य दिन मानिने षष्टी तिथिका दिन एक बिहानै नुहाएर निराहार व्रत बसेका व्रतालुले बेलुका अस्ताउँदो सूर्यलाई कम्मरसम्म छोप्ने जलाशयको पानीमा उभिएर अर्घ दिने परम्परा रही आएको छ । तराई मधेशमा यस विधिलाई साँझको अर्घ अर्थात् ‘सझुका अर्घ’ भनिन्छ । पोखरी, ईनार, तलाउ, नदी, आदि ठाउँहरुमा टेन्ट फूलमालाले सजाइएको घाटमै रातभरि जाग्राम बसेर सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई सूर्यलाई अर्घ दिएपछि यो पर्व सम्पन्न हुने परम्परा रहेको छ । बिहानको उदाउँदो सूर्यलाई दिइने अघलाई ‘भोरका अर्घ’ भनिन्छ । यसरी उदाउँदो सूर्यलाई अर्घ दिएपछि चैती छठ विधिवत रुपमा सम्पन्न हुन्छ ।

तराई मधेशको जिल्लाहरुमा छठ पर्व कार्तिक तथा चैत महिनामा मनाउने परम्परा रहेको छ । दुवै छठ पर्वको हिन्दु धर्ममा विशेष महत्व रहेको साहित्यकार एवं संस्कृतिविद् डा. राजेन्द्र विमल बताउँछन् । होलीपछि छठको पारन नहुँदा सम्म माछामासु र मद्यपान वर्जित हुन थालेको छ । कात्तिकमा हुने छठकै सम्पूर्ण विधि र प्रक्रिया चैती छठमा पनि हुन्छ । नियम, निष्ठा तथा श्रद्धामा कुनै किसिमको बदलाव छैन । बदलाव हुन्छ त केवल प्राकृतिक मौसमको ।

वास्तविक विक्रम सम्वतको पहिलो ठूलो पर्व चैती छठ भएको मैथिलीका प्राध्यापक परमेश्वर कापडि बताउँछन् । कात्तिकको मूल छठ र चैतको छठको दुई सामयिक विशेषता छन् । कात्तिकको मूल छठ गर्मी बितेपछि जाडो आरम्भ हुने मौसममा हुन्छ भने चैती छठ जाडो बितेपछि गर्मी सुरु हुने मौसममा मनाइन्छ । कात्तिकको छठको लागि आवश्यक पर्ने धेरै सामानहरूको जोहो अलि पहिलेदेखि नै गर्नुपर्छ भने चैती छठको लागि आवश्यक धेरै सामानहरू बजारमा वा गाउँघरमै सजिलै पाइन्छन् ।

छठको लागि आवश्यक सामानहरू एउटै वा उस्तै भए पनि मौसमको कारणले व्रतालुलाई चैती छठको व्रत बस्न निकै कठिन हुन्छ भने तुलनात्म करुपमा कात्तिकको छठको व्रत बस्न केही सजिलो हुन्छ । निराहार व्रत बस्नुपर्ने भएकोले चैतको गर्मीले व्रतालुलाई तिर्खाले सताउने डर हुन्छ । यता, चैती छठ गर्ने व्रतालुहरूको संख्या प्रत्येक वर्ष बढ्दो छ । केही वर्ष पहिलेसम्म फाट्टफुट्ट हुने चैती छठले अहिले निकै विस्तार पाइसकेको छ । चैती छठ मान्नेहरु तीन किसिमका देखिएका छन् । पहिलो ती हुन् जो कुनै कारणवश कात्तिकमा गर्न पाउँदैनन् र छठ नगर्दा तिनको मानसिकताले छठ गर्नेपर्ने दबाब दिन्छ ।

कात्तिकमा कुनै कारणले छठ गर्न छुटेकाहरु चैतमा छठव्रत गरेर मानसिक शान्ति प्राप्त गर्दछन् । चैती छठ मान्नेहरुमा दोस्रो ती व्रतालुहरु देखिएका छन् जो कात्तिकको पनि गर्दछन् र चैतका पनि । दुवै छठलाई मान्ने भाकल गर्नेहरुको संख्या बढ्दो छ । तेस्रोथरि ती हुन् जो केवल चैतको छठमात्र हुने गरेको मैथिलीका प्राध्यापक रामा महतो बताउँछिन । मधेशी समुदायका बीचमा मनाईदै आएको छठ पर्व केही वर्ष यता पहाडी समुदायका बीचमा समेत लोकप्रिय हुदै गएको छ ।

Advetisement

ताजा अपडेट

लोकप्रिय

सम्वन्धित समाचार