आज चैतेदशैं र रामनवमी, शक्तिपीठहरूमा दर्शनार्थीको घुइँचो

Facebook
Twitter
WhatsApp
Print

काठमाडौं, चैत्र ३० गते । चैतेदशैँ र रामनवमी पर्वका अवसरमा बिहानैदेखि देशभरका शक्तिपीठ एवं राममन्दिरमा भक्तजनको घुइँचो लागेको छ।

उपत्यकाका गुह्येश्वरी, जगबागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा भक्तजनको घुइँचो लागेको छ।  उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, वागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवीलगायत शक्तिपीठमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।

वासन्ती वा चैत्र नवरात्रसमेत भनिने यस पर्वका अवसरमा शक्तिपीठमा गई पूजाआजा एवं दर्शन गरेमा शक्ति प्राप्त हुने विश्वास छ। केही राम मन्दिरमा भने वैशाख १ गते आइतबार रामनवमी पर्व मनाइने जनाइएको छ। शनिबार अपराह्न र आइतबार पूर्वाह्नमा नवमी तिथि रहेको समितिले जनाएको छ। अपराह्नमा तिथि परेका दिन रामनवमी मनाउनेले आज र पूर्वाह्नका दिन नवमी तिथि मनाउनेले आइतबार पर्व मनाउन लागेका हुन्।

राजधानीको बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपतिस्थित राममन्दिर, जनकपुरधामस्थित राममन्दिरलगायत देशभरका राम मन्दिरमा भक्तजनको भीड लागेको छ। रामनवमी पर्वका अवसरमा बिहान ५ बजेदेखि नै बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर खुला गरिएको मन्दिर व्यवस्थापन एवं पुनर्निर्माण समितिका सदस्य सचिव डा. गोविन्द टण्डनले जानकारी दिए।  

चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी ‘रामनवमी’ पर्व मनाइन्छ। असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरमा पूजापाठ गरिन्छ। जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका नरनारीको घुइँचो लागेको छ ।

त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा भगवान् श्रीरामको जन्म भएको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ।

रामले संसारबाट पापी तथा दुष्ट राक्षसहरूको नाश गरेको र आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिएको रामायणलगायत ग्रन्थमा उल्लेख छ। रासस

ताजा अपडेट

लोकप्रिय

सम्वन्धित समाचार