काठमाडाैं, बैशाख २ गते । आइसिसी यू–१९ विश्वकपका लागि भइरहेको एसियन छनोट अन्तर्गतको तेस्रो खेलमा नेपाल मलेसियासँग आठ विकेटले विजयी भएको छ। ५० ओभरको खेलमा नेपालले दुई विकेट गुमाएर १३ ओभरमा विजयी लक्ष्य भेट्टाएको हो ।
नेपालले जितको लागि ९३ रनको चुनौति पछ्याएकोमा १३ ओभरमा ९५ रन बनाएको हो। नेपालले विजयी गराउने क्रममा नटआउट रित गौतमले ३९ र रोहित पौडेलले ६ रन हाने। पौडेलले पहिलो बलमा छक्का हानेका हुन् ।

त्यस्तै पवन सराफले १९ रन र आसिफ शेख २६ रन बनाएर आउट भएका थिए। मलेसियालाई सस्तैमा समेटने क्रममा कुशल मल्ल र पवन सर्राफले समान ३–३ विकेट लिए भने कमलसिंह ऐरीले २ र सागर ढकालले एक विकेट लिए।
पहिलो खेलमा सिंगापुरलाई पराजित गरेको नेपाल दोस्रो खेलमा वर्षाका कारण युएईसँग १ रनले पराजित भएको थियो। सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको नेपाल दोस्रो खेलमा युएईसँग भने वर्षाले डिएलको सिकार भएको थियो।