उपभोक्ताको स्वास्थ्यसंग खेलवाड गर्ने छुट कसैलाई छैन : मुख्यमन्त्री राउत

 

द पब्लिक टुडे समाचारदाता-
जनकपुरधाम, बैशाख ३ गते ।
प्रदेश नम्वर २ का मुख्यमन्त्री लालबाबु राउतले उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्ने छुट कसैलाई नरहेको बताएका छन् । उनले मानिसको स्वास्थ्यसँग खेलवाड गर्ने छुट कसैलाई नरहेकोले विषादी प्रयोग गर्नेलाई ऐन बनाएर कानूनको दायरामा ल्याउनुपर्नेमा जोड दिए ।

मंगलवार राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय जनकपुरधाममा आयोजित ‘उपभोक्ताको मानव अधिकार अवस्था’ विषयक प्रदेशस्तरीय कार्यशाला गोष्ठिको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले उपभोक्ता संरक्षण ऐन कार्यान्वयनका लागि तीनै तहको सरकारबीच समन्वयन र सहकार्य भए मात्र उपभोक्ताको अधिकार सुनिश्चित हुने बताए ।

उनले उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्नेहरू तथा खाद्यान्नमा विषादीयुक्त पदार्थ प्रयोग गर्नेलाई कारवाहीका लागि यथेष्ट कानून आवश्यक भएको र कानून कायौन्वयनका लागि तीनै तहको सरकारबीच समन्वय आवश्यक रहेको बताए ।

Advertisement

उनले भने, ‘विगतमा पनि उपभोक्ता संरक्षणसम्बन्धी ऐन कानुनहरू थियो र अहिले पनि छ तर कानून कार्यान्वयन पक्ष फितलो छ जसले गर्दा उपभोक्त ठगिनुको साथै स्वास्थ्य समस्या देशैभर बढदैछ।’

मुख्यमन्त्री राउतले बजारमा माछा, मासु, तथा मिठाइहरूमा व्यवसायीहरूले उपभोक्तालाई ताजा देखाउने नाममा गलत केमिकलहरूको प्रयोग गरेर अधिकांश सर्वसाधारणमा किड्नी रोग, डाइविटिज, ग्यास्ट्रिक, पत्थरी, हृदयघात, दम्मा जस्ता रोगले ग्रस्त भई अकालमै मृत्युवरण गरिरहनु परेको भए पनि केही गर्न नसकेको बताए । उनले खानपानकै कारण अधिकांश रोगहरू हुने गरेकाले उपभोक्ताहरूलाई समेत गम्भीरतापूर्वक ध्यान दिनुपर्ने आवश्यकमा जोड दिए ।

Scroll to Top