विकासका लागि उच्चतम प्रविधि प्रयोग गरिने

विराटनगर, १४ फागुन (रासस) ः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको विकास गर्न सम्पूर्ण क्षमता र योग्यताको उच्चतम प्रयोग गर्ने बताउनुभएको छ । विराटनगरको नवोल अस्पतालमा मुटु उपचारको उच्च प्रविधि ओपटिस मोबाइल सिस्टम (ओसिटी मेशिन)को आज उद्घाटन गर्दै उहाँले अस्पतालले सानो अवधिमा नै सेवा र प्रविधि क्षेत्रमा गरेको विकासले जनता निकै लाभान्वित हुने धारणा राख्नुभयो ।

मुख्यमन्त्री राईले औद्योगिक क्षेत्र विराटनगरलाई मेडिकल हव बनाउन प्रदेश सरकार सक्दो सहयोग गर्ने वचन दिँदै अस्पतालको यो प्रयासले मुटु रोगीलाई अन्यत्र जानबाट रोकिने भएको खुशी व्यक्त गर्नुभयो । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले निजी क्षेत्रबाट जनताका सेवाका लागि गरिएको यो प्रयासको सराहना गर्दै विराटनगर अब सबै क्षेत्रले परिपूर्ण हुँदै जानेमा जोड दिनुभयो ।

गङ्गालाल हृदय केन्द्रका निर्देशक डा ज्योतेन्द्र शर्माले मुटु उपचारमा अस्तालमा भित्रिएको यो मेशिन निकै प्रभावकारी छ भन्नुभयो । अस्पतालका कार्डियोजिस्ट डा राजेश नेपालले प्रविधि र मेशिनको अभावमा बिरामीको उपचार गर्न कठिन अवस्थालाई यो प्रविधि र मेशिनले हटाएको धारणा राख्नुभयो ।

अस्पतालका सञ्चालक डा सुनिल शर्माले मुटु रोगीलाई केन्द्रित गरेर अस्पतालले ल्याएको यो मेशिनबाट बिरामी विदेशिनबाट जोगाउने चर्चा गर्नुभयो । भारतीय डा निरञ्जन कुमारले अब नेपालमा यस्तो प्रविधिबाट उपचार हुनु खुशीको कुरा हो भन्नुभयो ।

ज्ञान, सेवा, प्रविधि र मेशिनबाट उच्च स्थान बनाउन सफल यो अस्पतालमा अगामी वैशाख २३ गतेदेखि ओपेन हर्ट सर्जरी हुनेछ । त्यसका लागि शहीद गङ्गालाल हृदय केन्द्रसँग आजै सम्झौता पनि गरिएको छ भने रु दुई करोड १० लाख मूल्यको ओपटिस मोबाइल सिस्टम सञ्चालनमा ल्याइएको छ । 
मुख्यमन्त्री शेरधन राई