आइपिएल क्रिकेट: शीर्ष स्थानको चेन्नाई १ रनले पराजित

 

गौशाला, वैशाख ९ गते : इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले शीर्ष स्थानको चेन्नई सुपर किङ्ससामु रोमान्चक जित निकालेको छ। गएराति भएको खेलमा पुछारको बैंगलोरले चेन्नईलाई १ रनले हराएको हो।

बैंगलोरले दिएको १६२ रनको लक्ष्य पछाएको चेन्नाईले २० ओभरमा ८ विकेट गुमाएर १६० रन मात्र बनाउन सक्यो। चेन्नईका लागि कप्तान महेन्द्रसिंह धोनीले ८४ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीको हार टार्न सकेनन्। निकै आक्रामक ब्याटिङ गरेका धोनीले ४८ बलमा ५ चौका र ७ छक्का प्रहार गरेका थिए। चेन्नईलाई अन्तिम ओभरमा २६ रन आवश्यक रहेको बेला धोनीले उमेश यादबको पाँच बलमा ३ छक्का, एक चौका र २ रन जोड्दै टोलीलाई जित नजिक पुर्‍याएका थिए।

चेन्नेईलाई अन्तिम बलमा जितका लागि २ रन आवश्यकता रहेको थियो। तर, अन्तिम बलमा शार्दुल ठाकुर रन आउट भएपछि चेन्नई १ रनले पराजित भयो। यस्तै अम्बाती रायडुले २९ तथा रविन्द्र जडेजाले ११ रन बनाए। बैंगलोरका डेल स्टेन र उमेश यादबले २–२ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभर खेल्दै ७ विकेट गुमाएर १६१ रन बनाएको थियो।

बैंगलोरका लागि प्राथिव पटेलले ५३ रनको अर्धशतकीय इनिङ् खेले। यस्तै मोइन अलिले २६, एबी डी भिलियर्सले २५ र आकाश दिप नाथले २४ रन बनाए। चेन्नईका दिपक चाहर, डयान ब्राभो र रविन्द्र जडेजाले २/२ विकेट लिए। चेन्नईलाई हराएसंगै बैंगलोरले लिगमा तेस्रो जित निकालेको छ । बैंगलोरले १० खेलबाट ६ अंक जोडेको छ। बैंगलोर लिगको पुछारमा रहेको छ। पराजित चेन्नई शीर्ष स्थानमा यथावत रहेको छ। चेन्नईले १० खेलबाट १४ अंक जोडेको छ।

Scroll to Top