प्रदेश २ मा मुख्यमन्त्री कार्यालयमै कर्मचारी अभाव

जनकपुरधाम, बैशाख १२ गते । प्रदेश नम्बर २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कर्मचारी अभाव हुँदा दैनिक कार्य सम्पादनमा समस्या भएको छ ।

स्थापना कालदेखि कर्मचारीको अभाव झेल्दै आएको प्रदेश नम्बर २ मा अधिकांश कर्मचारीले समायोजनपछि संघलाई रोजेपछि पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमै सचिवदेखि कार्यालय सहयोगी सम्मको कर्मचारी अभाव देखिएको हो ।

सचिव, उपसचिवको समायोजन तथा अवकासपछि कार्यालय सञ्चालन कठिनाइ निकै कठिनाई भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव सुशिल श्रेष्ठले बताए । कार्यालयमा प्रमुख सचिवसहित ५२ जना कर्मचारीको दरबन्दी रहेको छ ।  १३ जना रिक्त दरबन्दीमा प्रशासन फाँटका २ जना सचिव, प्रशासन फाँटकै ६ उपसचिव गरी ८ जना कर्मचारी रिक्त रहेको उनले जानकारी दिए ।

ठुलो संख्यामा सचिव र उपसचिवको पद रिक्त रहेपछि कार्यालयको काममा समस्या भएको उपसचिव श्रेष्ठले बताए । ७ जनामध्ये उपसचिवमा आफु मात्रै एक्लो हुँदा बिहान ७ बजेदेखि राती १० बजेसम्म काम गर्नुपरेको उनले दुखेसो पोखे । उपसचिव श्रेष्ठले समेत समायोजन रोजेपछि उनले पत्र देखाउदैँ भने, ‘यहाँ कोही जिम्मेवार उपसचिव वा कर्मचारी आएमा म पनि छिट्टै नै काठमाडौँ जानेछु ।’

यता मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सूचना अधिकारी पदम पोखरेल समेत विदामा बसेपछि जिम्मेवार कर्मचारी कोही छैनन् । समायोजन रोजेर आएका  कर्मचारीको अहिलेसम्म पदस्थापन नहुँदा कार्यालय सञ्चालनमा समस्या देखिएको छ ।

पदस्थापनका क्रममा अधिकांश कर्मचारीले यातायात कार्यालय रोजेकोले समस्या भएको स्रोतको भनाई छ । नायब सुब्बा, खरिदार, कम्प्यूटर अपरेटर र कार्यालय सहयोगीको पदस्थापनमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाटै समस्या खडा भएकोले दैनिकी कार्य सञ्चालनमा समस्या देखिएको छ । साभार : रातोपाटी

Scroll to Top