प्रदेश सरकारले सिडियो नियुक्त गर्न पाउँदैन : गृहमन्त्री थापा

द पब्लिक टुडे समाचारदाता-
जनकपुरधाम, बैशाख १४ गते ।
गृहमन्त्री रामबहादुर थापा बादलले सरकारले शान्ति सुरक्षाको क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल गरेको दाबी गरेका छन् ।

प्रदेश नम्बर २ मा आयोजित सुरक्षा गोष्ठीलाई शनिबार जनकपुरमा सम्बोधन गर्दै गृहमन्त्री बादलले सातैवटा प्रदेशको सुरक्षा गोष्ठीले देशको सुरक्षा व्यवस्था सुदृढ गर्न ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे।

उनले अराजक गतिविधिमा लागेकहरुलाई नियन्त्रणमा लिइ सरकारले शान्ति सुरक्षा कायम राख्नमा महत्वपूर्ण उपलब्धि हासिल गरेको दाबी गरे ।

सिके राउत तर्फ ईंगित गर्दै उनले अलग देशको माग लिएर आन्दोलन गर्दै आएकालाई मुलधारमा ल्याइनु महत्वपूर्ण उपलब्धि भएको बताए । उनले मुलुकको हित विपरित कार्य गर्ने विप्लव समूह नसच्चिए तह लगाएरै छाडिने पनि चेतावनी दिए । 

यस्तै गृहमन्त्री बादलले प्रदेश २ सरकारले आफ्नै सिडिओ राख्न खोजेको भन्दै असन्तुष्टि जनाएका छन् । संविधानमै नभएको व्यवस्था गरेर प्रदेश २ सरकारले आफ्नै सिडिओ राख्न खोजेको गृहमन्त्रीको आरोप छ ।

उनले प्रदेश सरकारले सिडियो नियुक्त गर्न नपाउने बताए । प्रदेश २ सरकारले आफ्नै सिडियो राख्ने प्रक्रिया शुरु गरिसकेको अवस्थामा उनले सिडियो संघीय सरकारको प्रतिनिधि हुने बताउदै संविधानमा कहीँकतै दोहोरो सिडियोको प्रावधान नरहेको स्पष्ट पारे।

उनले नागरिकता समबन्धी कतिपय समस्या समाधान गरिएको बताउँदै सर्वोच्च अदालतले २०५४ सालमा नागरिकता पाएकाहरुको हकमा गरेको फैसला बमोजिम नै गृहमन्त्रालय अघि बढ्नै बताए ।

उनले छिट्टै नै प्रदेश प्रहरीदेखि जिल्ला प्रहरी कार्यालय समेत प्रदेश सरकारको मातहतमा जाने स्पष्ट पारे । प्रदेश प्रहरी सम्बन्धी विधेयक सांसदमा प्रस्तुत भइसकेकाले छिट्टै हरेक प्रदेशले आफ्नो सुरक्षा आफै गर्न सक्ने अधिकार प्राप्त गर्ने उनको भनाई थियो । 

गृह मन्त्रालयको वार्षिक कार्यक्रम अनुरुप प्रदेश २ मा प्रदेश स्तरीय सुरक्षा गोष्ठी जनकपुरधाममा जारी रहेको हो ।  ८ जिल्लाका सुरक्षा अधिकारीहरुको उपस्थिति रहेको गोष्ठीमा सीमा सुरक्षालाई सरकारको मुख्य प्राथमिकतामा राखि छलफल भइरहेको बताइएको छ । 

Scroll to Top