सप्तरीमा मामाको स्वयंवरबाटै भान्जाको अपहरण !

राजविराज, बैशाख १६ गते । सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोका जागेश्वर यादवका छोरा–११ वर्षीय लक्ष्मण यादवको तीन दिनअघि अपहरण भएको खुलेको छ ।

अपहरित लक्ष्मणका मामा सप्तरीको महदेवा गाउँपालिका–२ अकवरपुरका भोलेन्द्र यादवको नर्घो गाउँकी मनिषा कुमारी यादवको विवाहको स्वयंवर चलिरहेका बेला शनिबार राति अपहरण भएको बेहुला भालेन्द्रले जानकारी दिए ।  

मामाको विवाहमा जन्ती आएका लक्ष्मणलाई मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले अपहरण गरेर लगेको नेपाल प्रहरीमा कार्यरत भोलेन्द्रले आइतबार सप्तरीको राजविराजस्थित जिल्ला प्रहरी कार्यालयमा अपहरणमा परेका भान्जाको हुलियासहित उजुरी दिएपछि रहस्य खुलेको हो।