धनुषा, बैशाख १६ – धनुषाको शहीदनगर नगरपालिका-१, पुरवारी टोल चिरैयाका २४ वर्षीय मुकेश गोइत यादवले पत्नी २० वर्षकी निर्मला यादवलाई जिउमा मट्टीतेल खन्याएर जलाएकी निर्मलाको उपचारको क्रममा सोमबार दिउँसाे काठमाण्डौको बर्न हस्पिटलमा मृत्यु भएको छ ।
गत वैशाख ५ गते दिउँसो घरमा कोहL नभएको मौकाछोपी पति मुकेशले निर्मलाको हातखुट्टा बाँधेर जिउमा मट्टीतेल खन्याई आगो लगाका थिए ।
आगोबाट निर्मलकाको शरीरको ७० प्रतिशत भागको छाला जलेर उनी गम्भीर घाइते भएकी थिइन् । घटनापछि गम्भीर घाइते निर्मलालाई जनकपुर अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाण्डौको बर्न होस्पिटलमा भर्ना गरिएको थियो ।
निर्मलाको १० महिना अघि मात्र समाजिक परम्परा अनुसार विवाह भएको थियो । २०७५ असार १८ गतेको दिन निर्मला र मुकेशको विवाह भएको थियो ।
मुकेश लागुपदार्थ तथा मादक पदार्थ सेवन कुलतका शिकार हुन् । घरमा कोही नभएको मौकाछोपी मुकेशले कुटपिट गर्दै निर्मलाको हातखुट्टा बाँधी बाकसमा रहेको कपडाहरु निकालेर जिउमा राखी मट्टी तेल छर्केर आगो लगाएको निर्मलाकी दा राकेश यादवले बताउनुभयो ।
आगो लगाएपछि निर्मला जोड जोडले चिच्याउँदा छरछिमेकहरुले उद्धार गरेको तर त्यतिबेलासम्म निर्मलाको शरीरकाे अधिकांश भाग जलिसको थियो ।
वैशाख ५ गते बिहान मुकेश र निर्मलाबीच झगडा भएको थियो । माइती पक्षले छोरी निर्मलालाई हत्या गर्ने प्रयास भएको भन्दै पति मुकेश गोइत यादव, ससुरा झरी गोइत यादव र सासूमाथि ज्यान मार्ने उद्योगमा कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका छन् । निर्मलाकी बुबा कामे भुसकुलियाले जाहेरी दर्ता गराउनु भएको छ । तर पति मुकेश अहिलेसम्म पक्राउ परेका छैनन् ।