जनताको सुखसहितको समृद्धि चाहेका छौं : प्रधानमन्त्री ओली

File Photo

काठमाडौं, बैशाख २० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनताको सुःखसहितको समृद्धि चाहेको बताएका छन् । प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपालः सुःखी नेपाली’ जनताको साझा सपना भएको उल्लेख गर्दै त्यसलाई पूरा गर्न सरकार क्रियाशील रहेको दाबी गरे ।

उनले दक्षिण एसियाली राष्ट्रहरूको समृद्धि र त्यहाँका जनताले सुःख पाएको हेर्न नेपाल आतुर रहेको पनि बताए । शुक्रबार ‘सार्क चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रि’का पदाधिकारीहरूसँग आफ्नै सरकारी निवास बालुवाटारमा भएको सामूहिक भेटमा उनले नेपाल र दक्षिण एसियाली राष्ट्रहरूको समृद्धिका लागि त्यहाँको युवा जनशक्तिलाई परिचालन गर्नुपर्ने प्रस्ताव पनि अघिसारे ।

प्रधानमन्त्री ओलीले नेपालमा ४० प्रतिशत युवाहरु र ६० प्रतिशतभन्दा बढी काम गर्ने उमेर समूहका मानिसहरू रहेकाले उनीहरुलाई समृद्धिको अभियानमा परिचालन गर्ने पनि स्पष्ट पारे । प्रधानमन्त्री ओलीले नेपालमा लगानी गर्न वैदेशिक लगानीकर्ताहरूलाई पुनः आह्वान पनि गरे । उनले नेपालमा लगानी गरे त्यसको प्रतिफलको ग्यारेन्टी सरकारले गर्ने पनि बताए ।

प्रधानमन्त्री ओलीले नेपालमा गरिएको लगानी खेरजान नदिन सरकारले सुशासनमा जोड दिएको पनि स्पष्ट पारे। निजी क्षेत्रसँगको सहकार्यमा मुलुकलाई समृद्ध बनाउने सरकारको योजना रहेको पनि प्रधानमन्त्री ओलीको भनाइ छ। प्रधानमन्त्री ओलीले नेपालमा लगानीका लागि आवश्यक सबै वातावरण बनेको प्रधानमन्त्रीको दाबी थियो ।