विवाहको दुई महिनामै महिलाको शङ्कास्पद मृत्यु, हत्या भएकाे माइती पक्षको आराेप

File Photo
 

सिरहा, बैशाख २० गते । सिरहाको दक्षिणी सीमावर्ती क्षेत्रमा पर्ने खिरौना गाउँमा शुक्रबार बिहान एक महिलाको शङ्कास्पद मृत्यु भएको छ ।  सिरहा नगरपालिका १४ खिरौना गाउँकी २१ वर्षीया मनिषा कुमारी मण्डलको विवाह भएको दुई महिना नबित्दै शङ्कास्पद मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक माधवराज खरेलका अनुसार मण्डलको शव खिरौनास्थित घरको कोठामा बिहान करिब दुई बजेतिर मृत भेटिएको हो ।   घटनाको सूचना पाए लगत्तै घटना स्थल पुगेको प्रहरीले घटनास्थल प्रकृति मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि ८ बजेतिर सिरहा अस्पताल ल्याएको सूचना अधिकारी खरेलले बताए ।

ओछ्यानमा भेटिएको शवको पोष्टमार्टमपछि मात्र उनको मृत्युको कारणको विषयमा केही बताउन सकिने उनले बताए । ‘तत्काल सोधपुछका लागि मृतककी सासु तारादेवी मण्डल र पति रामरेश मण्डललाई प्रहरीमा बोलाइएको छ’ प्रहरी नायव उपरीक्षक खरेलले भने । 

हत्या भएको माइती पक्षको आरोप  सिरहाको गोलबजार नगरपालिका ८ चोहर्वाका रघुनाथ मण्डलकी एक्ली छोरी मनिषाको पछिल्लो १६ फागुनमा करिब सात लाख रुपैयाँ खर्चेर विवाह भएको थियो । ‘सामाजिक परम्परा अनुसार भएको विवाहमा डेढ लाख रुपैयाँ नगद, अपाचे मोटरसाइकल, सवा तोला सुन, फर्निचर, लत्ताकपडासहित करिब सात लाख रुपैयाँ खर्च गरें’ मृतककी बाबु रघुनाथले भने ‘विवाह लगत्तै दाइजो कम ल्याएको भन्दै कुटपिट भएको छोरीले कैयौं पल्ट फोनमा रुदै सुनाएकी थिइन्।’

‘घर परिवारको झगडा हो, मिलेर बस्नु पर्छ’ भन्दै छोरीलाई सम्झाएको थिएँ, ज्यान नै लिएछन्’ बाबु रघुनाथले भक्कानिदै सुनाए। वैदेशिक रोजगारीमा रहेका मृतकका पति रामरेश स्वयम्ले पनि छोरीलाई दाइजोको विषयमा आमासँग मिलेर कुटपिट गर्ने गरेको थाहा पाएको उनले बताए।

सिरहाको कल्याणपुर नगरपालिका ८ अरङ् गाउँमा आफ्नै घरमा मट्टितेल छर्केर आगो लगाइएकी २१ वर्षीया कञ्चन मण्डलको मृत्यु भएको एक हप्तापछि मनिषाको रहस्यमय मृत्युु भएको हो । महिला हिंसा विरुद्ध विभिन्न जनचेतनामूलक गतिविधि चलिरहेको भएपनि ग्रामीण क्षेत्रमा अझै महिलालाई दाइजो नल्याएको, चरित्र बिग्रिएको जस्ता आरोप लगाउँदै हत्या हुने क्रम बढिरहेको छ । साभार : थाहा खबर

Scroll to Top