हावाहुरी प्रभावित क्षेत्रमा आजदेखि घर निर्माण सुरु

 

बारा, बैशाख २१ गते । नेपाली सेनाले बारा र पर्साको हावाहुरी प्रभावित क्षेत्रमा घर निर्माणको काम सुरु गरेको छ ।

बाराको फेटा गाउँपालिका-६ पुरैनियाका इजहार मियाँको घर शिलन्यास गरी काम सुरु भएको हो । उपप्रधान एवं रक्षा मन्त्री इश्वर पोखरेलले घर निर्माणको शिलान्यास गरेका छन् । चैत १७ गते बारा पर्सामा आएको विनाशकारी हावाहुरीबाट प्रभावितका लागि जनता आवास निर्माण कार्ययोजनाको शनिवार बाराको फेटा गाउँपालिका–६ पुरनियाँमा शिलान्यास गर्दै उपप्रधानमन्त्री पोखरेलले पीडित जनताको आवास निर्माणमा नेपाली सेनाले कुनै कमी राख्न नहुने बताए ।

एकैसाथ बारा पर्साको १२ ठाउँमा सो आवासको शनिवारै शिलान्यास भइरहेको छ । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा शिलान्यास कार्यक्रम हुने भनिएपनि विशेष कारणले प्रधानमन्त्री आउन नसक्नु भएको जानकारी दिए ।

उपप्रधानमन्त्री पोखरेलले प्रारम्भ गरिएको जनता आवासमा कुनै किसिमको ढिलाइ नगरी वर्षा अगाडि नै आवास निर्माण गर्न सेनालाई निर्देशन दिए । सो आवास निर्माण गर्दा केही समस्या आए प्रदेश र स्थानीय सरकार मिलेर समाधान गर्नुपर्ने बताउँदै उपप्रधानमन्त्री पोखरेलले सेनाले निर्माण गर्ने जनता आवास कार्यक्रममा स्थानीय, प्रदेश सरकारसहित सबैको सहयोग रहने बताए ।

उनले हावाहुरी प्रभावित परिवारलाई घर बनाउँदा जग्गाको अभाव भए प्रक्रियागत रुपमा ऐलानी र प्रति जग्गा उपलब्ध गर्नसमेत निर्देशन दिए । उपप्रधानमन्त्री पोखरेलले सबै मिलेर एकताबद्ध भई आपत्विपत्मा परेका जनताको समस्या समाधान गर्न सबै एक हुनुपर्ने बताए ।

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु रावतले हावाहुरी प्रभावित परिवारको लागि संघीय सरकारले गरेको काम स्वागतयोग्य रहेको बताए । 

कार्यक्रममा उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव,  गृहमन्त्री रामबहादुर थापा, ऊर्जा तथा  जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा, शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई, खानेपानी मन्त्री विना थापामगर र भूमी व्यवस्था सहकारी मन्त्री पद्माकुमारी अर्याल लगायतको उपस्थित रहेको थियो ।

गएको चैत १७ गते आएको हावाहुरीमा परेर २८ जनाको ज्यान जानुका साथै झण्डै २ हजार बढी घरमा क्षति पुगेको थियो ।

Scroll to Top