काठमाडौं, बैशाख २२ गते । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले समाजवादलाई गन्तव्य मानेर संघीय समाजवादी फोरम, नेपालसँग पार्टी एकता गर्न लागिएको स्पष्ट पारेका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा संयोजक भट्टराईले भोलि (सोमबार) दुई पार्टीबीच हुने एकता समाजवादलाई गन्तव्य मानेर अघि बढने सहमतिका लागि गरिएको जानकारी दिए । उनले साम्यवाद सम्भव नभएको तर्क गर्दै त्यसको बलियो विकल्पका लागि आफूहरुले समाजवाद स्थापनाको नेतृत्वका लागि पहल गर्न दुई पार्टीबीच एकता गर्न लागिएको पनि स्पष्ट पारे ।
भोलि (सोमबार) भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपालबीच एकीकरण भई बन्ने पार्टीको नाम ‘समाजवादी पार्टी, नेपाल’ राख्ने सहमति भएको छ ।
संयोजक भट्टराईले कम्युनिष्ट पार्टीहरुको संगठन संचालन प्रणाली पनि त्रुटिपूर्ण रहेको उल्लेख गर्दै त्यसलाई सच्याउन जरुरी रहेको पनि बताए । २ जना नेतृत्वमा रहने गरी एकता हुन लागेको सो पार्टीको मुख्य लक्ष्य मुलुकमा समाजवाद स्थापना गर्नु हुने संयोजक भट्टराईको भनाइ छ ।