• The Public Today
  • प्रधानमन्त्री बन्न पार्टी एकता गरेको होइन : प्रचण्ड


    काठमाडौं, बैशाख २२ गते । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्न पार्टी एकता नगरिएको बताएका छन ।

    आइतबार राजधानीमा कार्ल मार्क्सको २०१औँ जन्म स्मृतिको अवसरमा आयोजित ‘समृद्धि र समाजवाद : हामी कहाँ छौँ’ विषयक समारोहमा प्रचण्डले तत्कालिन एमाले र तत्कालिन माओवादीबीचको एकता प्रधानमन्त्री बन्न र सत्ता कब्जा गर्नका लागि नभएको बताएका हुन । ‘ठूलै सपना बोकेर पार्टी एकता गरिएको हो ।

    प्रधानमन्त्री हुन र सरकार कब्जा गर्नका लागि पार्टी एकता गरिएको होइन’, प्रचण्डले भने, ‘एउटा नयाँ ढंगको पार्टी निर्माण गरेर समाजवादी युगतिर नेपाललाई लगेर विश्वभरीका समाजवादीहरूलाई सन्देश दिन पार्टी एकता गरिएको हो।’ उनले पार्टी एकता समाजवादको आवश्यकता रहेको तर्क गरेका थिए ।

    प्रचण्डले वर्तमान नेकपा पार्टीलाई रुपान्तरण गरेर कम्युनिस्ट पार्टी बनाउने बताए। ‘मूल्य मान्यतामा चल्ने, विचारमा चल्ने पार्टी बनाउने हो। श्रमजिवी जनताको विशाल फौज बनाउने हो। फौज भन्दा फेरि जनयुद्ध गर्न लाग्यो भन्ने नबुझ्नुहोला’, प्रचण्डले भने। पार्टीभित्र विचार र संगठन कस्तो हुने भनेर बहस आवश्यक भएको प्रचण्डको भनाइ थियो ।

    उनले समाजवादको यात्रामा पार्टीलाई लिएर हिँड्नका लागि पार्टीभित्र ठूलो बहस सुरु गरेर विचारको सुरुवात गर्न सकिने धारणा राखे। ‘सही विचार, वर्ग संघर्ष, श्रम संघर्ष र विज्ञानको प्रयोगबाट आउने हो। कोही विद्वानले अगाडि ल्याएर राखिदिने होइनु’, बसहमा केन्द्रित हुन आग्रह गर्दै प्रचण्डले कार्यकर्ताहरूलाई भनेका थिए। उनले वर्तमान अवस्थामा नेकपा ठूलो बहसबाट २१औँ शताब्दिमा कम्युनिस्ट पार्टी कस्तो हुनुपर्छ भन्ने अवस्थामा रहेको बताए ।

    उनले पार्टीको वैचारिक संगठनको विकास गर्ने सम्भावना रहेको बताए। विगतदेखि नै आफूलाई सानो पार्टीको नेतृत्व गरेर कुवाको भ्यागुतोझैँ बस्नुभन्दा पनि सबैलाई एक बनाएर र छलाङ मारेर अगाडि बढ्नुमा रुची रहेको अध्यक्ष प्रचण्डको भनाइ थियो। उनले भने, ‘सानो नाङ्लो पसलजस्तो थापेर क्रान्ति हुन्छ भन्ने मलाई लाग्दैन।’ त्यसैले एमालेको रूपमा जमेको पोखरी र माओवादीको रूपमा जमेको पोखरी भत्काउनुपर्छ भन्ने मान्यताबाट एकता भएको प्रचण्डको तर्क थियो ।

    उनले पार्टी एकतापछि पार्टी ‘गडगडाएर बग्ने खोला बनाइएको’ तर्क गरे। उनको अर्को तर्क थियो, ‘समाजवादमा जान ठूलो विचार, संगठन र कार्यकर्ता आवश्यकताको निष्कर्षसहित पार्टी एकता भएको हो।’ पार्टीभित्र वैचारिक र राजनीतिक विषयमा बहस नगरिकनै एकता गरिएको भन्ने गुनासो आइरहेका बेला प्रचण्डले त्यो बाटो अपनाएको भए एकता नै सम्भव नदेखेको बताए। उनले भने, ‘वैचारिक विषयमा र राजनीतिक विषयमा बहस गरिएको छैन भन्ने गुनासो आउने गरेको छ। यो झमेलातिर लाग्ने हो भने एकता हुँदैन भनेर नै बहस नगरिएको हो ।’

    एकताको बाँकी काम छिट्टै

    तत्कालिन एमाले र माओवादी एक भएपछि झन्डै एक वर्ष बित्दा मात्रै नेकपाले जिल्ला कमिटी गठन गरेको थियो। त्यो सबैभन्दा जटिल रहेको प्रचण्डको भनाइ थियो। उनले भने, ‘जनसंगठन र कार्यविभाजन एक दिन बसेपछि टुंगिन्छ। भोलि बस्दै छौँ।’ प्रचण्डले ७ – ८ महिनाभित्र जिल्ला अधिवेशनमा जानुपर्ने धारणा राखे ।

    नेपालको राजनीति समाजवादी कित्तामा जाने कि पुँजीवादी कित्तामा जाने भन्ने बहस भइरहेको र नेकपा भने समाजवादी कित्तामा जाने स्पष्ट रहेको प्रचण्डको भनाइ थियो। यो विषयमा दुईमत नरहेको उनको भनाइ थियो ।

    जंगल जान सक्छु

    अध्यक्ष प्रचण्डले आफूमा अझै जंगल जानसक्ने तागत भएको धारणा राखे । उनले भने, ‘म ‍फेरी सबै त्याग गरेर एकपटक सम्पूर्ण चिज त्याग गरेर जंगल जान सक्छु भन्ने लागेको छ। कतिपयलाई के लाग्छ भने अब यत्रो भइसकेको छ भन्न लाग्छ।’ प्रचण्डले थपे, ‘मलाई चाहीँ तपाईंको साथ त चाहिन्छ, एक्लै जोगी भएर त जान्न ।

    यो पार्टी र आन्दोलनलाई क्लाइमेक्समा लागेर माथि जाने विचार छ।’ प्रचण्डले पार्टी एकढिक्का बनाएर लैजान नेता कार्यकर्तालाई आग्रह गरेका थिए। उनले ठट्यौली पारामा भने, ‘हामी आपसमा कमरेड हौँ जस्तो हुनुपर्‍यो के! भेट्दा पनि आनन्द आउने हुनुपर्‍यो ।

    एक अर्कालाई भेट्दा छिर्के हान्न खोजेजस्तो देखियो।’ उनले थपे, ‘कमरेड भनेको त यसले मलाई सिध्याउन खोजेको जस्तो छ भन्ने लाग्न थालेको छ। पहिले त हामी त्यस्ता त थिएनौँ। अहिले त एकले अर्कोलाई छिर्के हान्न खोजेको जस्तो मात्रै देखिने। एकले अर्कोलाई खैँजडी हान्न खोजेको मात्र देखिने के!’ साभार : थाहा खबर


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राजनीति

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस