• The Public Today
  • फोरम र नयाँ शक्तिबीच एकता घोषणा : पार्टीले अघि सार्‍यो ११ प्रदेशको एजेण्डा, यस्ता छन् एकताका ९ आधार !


    काठमाडौं, बैशाख २३ गते । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच एकता घोषणा भएको छ । सोमबार राजधानीमा आयोजित एक विशेष समारोहमार्फत दुई पार्टीबीच एकतासम्बन्धी समझदारीपत्र आदानप्रदान गर्दै एकता भएको घोषणा गरियो ।

    एकतासम्बन्धी समझदारीपत्रमा नयाँ शक्तिको तर्फबाट संयोजक बाबुराम भट्टराई र फोरमको तर्फबाट अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरे  । एकता समारोहमा दुबै पार्टीका नेता तथा कार्यकर्ताले हल भरिभराउ थियो । एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राखिएको छ । 

    पार्टीले ११ प्रदेशको माग अघि सारेको छ । दुई पार्टीबीच भएको ९ बुँदे सहमतिको ५ नम्बर बुँदामा संविधान संशोधन गरी ११ प्रदेशको रचना गरिनुपर्ने माग गरिएको हाे । 

    सहमतिपत्रको बुँदा नम्बर ५ मा भनिएको छ, ‘हामी नेपाललाई साँचो अर्थमा संघीय राज्य बनाउन प्रतिवद्ध छौं । यसका निम्ति संविधानसभाद्वारा गठित उच्चस्तरीय राज्य पुनर्संरचना आयोगको प्रतिवेदनको आधारमा संविधान संशोधन गरी ११ प्रदेशहरुको रचना गरिनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ ।’

    यो पनि पढ्नुहोस !
    सिंहदरबार कब्जा गर्ने हैसियत हाम्रो पार्टीले राख्छ : मुख्यमन्त्री राउत

    सहमतिपत्रमा नेपालका सबै अल्पसंख्यक, सीमान्तकृत तथा राष्ट्रिय समुदायहरु मधेसी , आदीबासी जनजाती, शिल्पि, खस, मुस्लिम, थारुलगायतको सवालहरु सम्बोधन गरिनुपर्नेमा पनि जोड दिइएको छ । यस्तै विद्यमान पिछडिएको उत्पाद सम्बन्धको अन्त्य गरी आर्थिक विकास र समृद्धिको ठोस कार्ययोजना लागू गरिने पनि सहमतिपत्रमा उल्लेख गरिएको छ ।

    सहमतिको पहिलो नम्बरमा संघीयता र समाजवादको सिद्धान्तमा स्थापित फोरम र  प्रगतिशील लोकतान्त्रिक शक्तिको रुपमा स्थापित नयाँ शक्तिबीच पार्टी एकीकरण गरेर समाजवादी पार्टी नेपाल स्थापना गरिएको उल्लेख गरिएको छ ।

    एकताको आधारपत्रमा नेपालको राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र सामाजिक न्यायका लागि भएका सबै जनआन्दोलन, जनयुद्ध, मधेस जनविद्रोह तथा पहिचान र अधिकारका लागि भएका आन्दोलनमा जीवन उत्सर्ग गर्ने सहिदहरुप्रति श्रद्धाञ्जलिअर्पण गर्दै वेपत्ता, घाइते र सहिद परिवारलगायत सबैप्रति उच्च सम्मान प्रकट गरिएको छ ।

    समाजवादी पार्टीको राजनीतिक कार्यदिशा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै प्राप्त उपलब्धिलाई रक्षा र विकास गर्नु रहने समझदारी पत्रमा उल्लेख गरिएको छ । 

    यस्तै एकीकृत पार्टीले फोरमले अबलम्बन गर्दै आएको संघीय समाजवाद र नयाँ शक्तिले अबलम्बन गर्दै आएको समुन्नत समाजवादको आधारमा समुन्नत संघीय समाजवादको सिद्धान्त अघि सारिएको छ । 

    एकीकृत पार्टीले सैद्धान्तिक वैचारिक मान्यताको आधारमा राजनीतिक क्षेत्रमा जनताको सार्वभौमिकता, नागरिक स्वतन्त्रता, बहुलतायुक्त खुला समाज, वालिग मताधिकार, आवधिक निर्वाचन, विधिको शासन, प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्थालगायतका मूल्य र मान्यताहरु आत्मसात गर्ने भएको छ । 

    यस्तै दुई पार्टी संघीय राज्य बनाउन प्रतिवद्ध रहेको र त्यसका लागि संविधानसभाद्वारा गठीत उच्चस्तरीय राज्य पुनर्संरचना सुझाव आयोगको प्रतिवेदनको आधारमा संविधान संशोधन गरी ११ प्रदेशहरुको रचना गर्नुपर्नेमा जोड दिइएको छ । 

    एकीकरणको घोषणासँगै फोरम र नयाँ शक्तिदुबै विधिवत रुपमा विघटन भएको छ । नयाँ पार्टी समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता गरिने छ । 

    यो एकीकरणसँगै नेपालमा नयाँ वैकल्पिक शक्तिको उदय भएको सहमतिपत्रमा दाबी गरिएको छ । 

    यस्तो छ दुई पार्टीबीचको एकतासम्बन्धी समझदारीपत्र


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राजनीति

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस