राजविराज, बैशाख २३ – तीन लाख रुपैयाँका लागि तीन महिना अघिदेखि बन्धकीमा राखिएका एक भारतीय बालकको उद्वार गरिएको छ। आफ्नै बुबाले बन्धकी राखेका भारतको आसाम राज्यस्थित धुव्री जिल्लाका ११ वर्षीय बालक मोहिबुल एसकेको सोमबार उद्धार गरिएको हो।
बालकलाई उनकै बुबा स्माइल एसकेले सप्तरीको विष्णुपुर गाउँपालिका, वरही वीरपुरस्थित रतन इँट्टा उद्योगमा बन्धकी राखेका थिए।
विभिन्न जिल्लाका इँटा उद्योगमा भारतीय श्रमिक सप्लाई गर्ने स्माइलले गत माघमा रतन इँटा उद्योगसँग ३ लाख रुपैयाँ लिएका थिए। श्रमिक ल्याइदिने सर्तमा पैसा लिएका उनले बन्धकीमा आफ्नै छोरालाई छोडेर गएको जनाइएको छ।
तर, पैसा लिएर गएका स्माइल फर्केर सप्तरी आएनन्, न त श्रमिक नै पठाए। बालक वन्धक भएको विषयमा स्थानीय प्रशासन पनि जानकार थियो। तर, अभिभावकको टुंगो नभएको र संरक्षण तथा पालनपोषण गर्ने निकाय नभएकाले तत्काल उद्धार गर्न नसकिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए।
‘हामीले आधिकारीक पत्र लिएर आए प्रहरीमार्फत पठाउने कुरा पनि गर्यौं,’ पौडेलले भने, ‘तर, बालक जिम्मा लिन कोही आएन।’ यस विषयमा भारतीय दूतावासमा पनि मौखिक जानकारी गराइएको पौडेलको भनाइ छ।
‘हामीले बेलाबेला इँटाभट्टाको अनुगमन गर्ने क्रममा बालकलाई काममा नलगाउने र अभिभावक नआएसम्म संरक्षण गर्ने विषयमा भट्टा मालिकसँग समन्वय गरिरह्यौं,’ उनले थपे, ‘सुनसरीको इटहरीस्थित बाल हेल्पलाइनले बालकको संरक्षण गर्ने व्यवस्था मिलेकाले भट्टाबाट निकालेर उता पठाउने निधो भएको हो।’