काठमाडौं, बैशाख २५ गते । नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालबीच एकता गरेर बनेको समाजवादी पार्टीमा भाँडभैलो सुरु भएको छ । संघीय समाजवादी फोरमसँग एकता गरेर समाजवादी पार्टी बनाएपछि तत्कालीन नयाँ शक्तिका नेताहरु असन्तुष्ट बनेका छन् ।
एकता घोषणा गरेको २ दिन नबित्दै सो पार्टीका झण्डै एक दर्जन नेताहरु बाहिरिने तयारीमा लागेका छन् । त्यसका लागि उनीहरुले आन्तरिक छलफललाई तीव्र बनाएका छन् । नयाँ शक्ति र फोरमबीच वैशाख २३ गतेमात्रै एकता गरेर समाजवादी पार्टीको घोषणा गरिएको थियो ।
उक्त एकताप्रति प्रश्न उठाउदै नेताहरुले विद्रोह गर्ने तयारी गरेका हुन् । यसको नेतृत्व पूर्व नयाँ शक्ति पार्टीका नेताहरुले गरेका छन् । पूर्व नयाँ शक्ति पार्टीका सचिवालय सदस्यहरु मदन राई, कल्पना धमला, भक्तबहादुर शाह, रामबहादुर बोहोरा, सोनामसिंह स्याङतान, ज्ञानेन्द्र कुमाल, देवेन्द्र पराजुलीलगायतले फोरमसँगको पार्टी एकता प्रकृया नै गलत भएको निष्कर्ष निकाल्दै विकल्पको खोजीमा लागेका हुन् ।
स्रोतका अनुसार असन्तुष्ट समूहका केही नेता सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गर्ने तयारी छ । असन्तुष्ट केही नेताले भने दबाव समूह बनाउने तर, पार्टी नछाड्ने बताएका छन् ।
नेकपाले बुधबार अपराह्न नै प्रचण्डको उपस्थितिमा ‘विशेष कार्यक्रम’ राखेको छ । स्रोतका अनुसार पूर्वसभासद धमलासहितका नयाँ शक्तिका नेताहरुलाई स्वागत गर्ने तयारी छ । त्यसलाई स्वीकार गर्दै नेकपाका एक नेता भन्छन्, ‘साथीहरुसँग कुराकानी भइरहेको छ । एउटा सहमति गरेर स्वागत गर्छौं ।’
समाजवादी फोरमका नेता रामरिझन यादवले भने बाबुरामसँग केही असन्तुष्टि रहेको तर, नेकपा प्रवेश गर्ने योजना नरहेको बताए । असन्तुष्ट साथीहरुबीच मेरो घरमा बसेर छलफल भएको हो । दबाव समूह बनाउने सम्मको कुरा भएपनि अरु पार्टीमा जाने कुरा भएको छैन’ उनले भने ।