व्यवस्थापन पक्षले सम्झौता नगरेको विरोधमा कर्मचारीहरु आन्दोलित

जनकपुर, बैशाख २७ गते – जानकी मेडिकल कलेज एवं शिक्षण अस्पतालका व्यवस्थापन पक्षले विगतमा गरेको सहमति सम्झौता कार्यान्वयन नगरेको विरोधमा कर्मचारीहरु आन्दोलित भएका छन् ।

बिहीबार कर्मचारीहरुले अस्पतालको ओपीडी सेवा एक घण्टा ठप्प गरेका थिए । उनीहरुले शुक्रबार बिहान १० बजेदेखि १२ बजेसम्म दुई घण्टा ओपीडी सेवा ठप्प गर्न लागेको कर्मचारी हकहित संरक्षण समितिका संयोजक उमेश यादवले बताउनुभयो । कर्मचारीको आन्दोलनले जानकी मेडिकल कलेज शिक्षण अस्पतालको साथै जनकपुरको ब्रह्मपुरीमा शाखा अस्पतालको रुपमा रहेको सीटी अस्पतालको सेवा समेत प्रभावित भएको छ ।

समयमा तलबभत्ता नदिँदा १० महिना अघि कर्मचारकिो आन्दोलनले धारासायी भएको मेडिकल कलेजल अवस्था व्यवस्थापन पक्षले विभिन्न सहमति सम्झौता गरेपछि समान्य रुपमा सञ्चालन हुँदै आएको थियो । तर विगतमा कलेज संचालक पक्षका ओम प्रकाश पाण्डेले आफूहरुसँग गरेको सहमति सम्झौता कार्यान्वयन नगरेको कर्मचारीहरुको आरोप छ ।

‘१० वर्षदेखि कार्यरत्त कर्मचारीलाई विना कुनै कसुर, पूर्व सूचना र स्पष्टीकरण समेत नलिई बायोमेट्रिकबाट हाजिरी हटाउने जस्ता अन्यायपूर्ण कदमले हामीहरुको भविष्य अन्धकारमय हुने निश्चित छ’, सघंर्ष समितिका संयोजक यादवले भन्नुभयो ‘हामी कर्मचारीहरुले गरेको श्रमको तलब, संस्थाको भविषयसँगसँगै सबैको भविष्य सुरक्षित गर्न विगतमा व्यवस्थापन पक्षले गरेको सहमति सम्झौता कार्यान्वयन गर्न एवम् पारदर्शी तरिकाले अगाडि बढ्न यो आन्दोलनमा उत्रेका छौँ ।’

विगतमा गरेको सहमति कार्यान्वयन नभए कडा आन्दोलनमा उत्रिन बाध्य हुने संघर्ष समितका संयोजक यादवले चेतावनी समेत दिनुभएको छ । कर्मचारीहरुले अगामी वैशाख ३१ गते पत्रकार सम्मेलन गरी संघर्षका अन्य कार्यक्रम घोषणा गर्ने जनाएको छ ।

Scroll to Top