मधेशी जनताले संविधानलाई स्वीकार गरेको छैन : उपेन्द्र यादव

 

द पब्लिक टुडे समाचारदाता
जनकपुरधाम, जेष्ठ १३ गते ।
समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिचान र समानता विरोधी वर्तमान संविधानलाई मधेशी जनताले अझै स्वीकार गर्न नसकेको बताएका छन् ।

नयाँ शक्ति र संघीय समाजवादी फोरम नेपाल एकीकरण पश्चात समाजवादी पार्टीले पहिलो पटक जनकपुरमा आईतवार आयोजना गरेको प्रादेशिक अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले राज्यको स्रोत साधनमा भागिदारी र राज्य सत्तामा मधेशी, आदिवासी, जनजाति, मुस्लिम महिला लगायत उत्पीडनमा परेका सबै वर्ग समुदायको बराबरको अधिकार नभएसम्म देशमा आन्दोलन जारी रहने उद्घोष गर्दै त्यसको नेतृत्व समाजवादी पार्टीले गर्ने बताएका छन् ।

अध्यक्ष यादवले नेपाली नागरिक स्वायत्तता सहितको अधिकार सम्पन्न संघीयता खोजी रहेको बेला शासक वर्गले संघीय प्रणालीलाई नै बदनाम गरेर संघीयता र गणतन्त्र समाप्त पार्ने षडयन्त्र गरिरहेको उल्लेख गर्दै उनले त्यस विरुद्ध सचेत रहन पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन समेत दिए । उपप्रधान तथा स्वास्थ्य जनसंख्या मन्त्री समेत रहेका यादवले समाजवादी पार्टीको एकताले विचलित भएका परम्परागत शासकहरू विभिन्न खाले अफवाह फैलाइरहेको उल्लेख गर्दै उनले त्यस्ता खाले अफवाहमा नफसी पार्टीको मार्ग सिद्धान्तमा अघि बढ्न कार्यकर्ताहरूलाई आग्रह गरे ।

देशमा रहेको तीन वटा क्लस्टर मधेशी– थारु, आदिवासी–जनजाति र खस–आर्यलाई समान अधिकार दिएर अघि बढने एक मात्र पार्टी समाजवादी पार्टी रहेको दाबी गर्दै उनले अन्य पार्टीहरू एकल जातीय र क्षेत्रीय मात्र रहेको टिप्पणी गरे ।

पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले समाजवादी पार्टी नेपालले अपनाएको सिद्धान्तले मात्र सही अर्थमा राष्ट्रिय एकता कायम गर्ने दाबी गरे । उनले हालको संविधानले राष्ट्रको सार्वभौसत्ता जनतामा निहीत गरे पनि पहिचानको आधारमा प्रदेशहरुको निर्माण नभएसम्म वास्तविक संघीयता आउन नसक्ने बताए । पहिलो संविधान सभाको क्रममा तत्कालीन राज्य पुनःसंरचना आयोगले निर्धारण गरेको १० जोड १ को संघीय प्रणाली नै देशको आवश्यकता रहेको उनले जिकिर गरे ।

पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले देशलाई सम्मुन्नत संघीय समाजवादमा रुपान्तरण गर्न प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली र पूर्ण समानुपातिक संसद हुनु पर्नेमा जोड दिए ।

त्यसैगरी समाजवादी पार्टी नेपालका सह– अध्यक्ष राजेन्द्र श्रेष्ठले देशमा भएको सबै कलकारखाना नेपाली कांग्रेसले सखाप पारेको आरोप लगाए । उनले देशमा कांग्रेस र नेकपाले वंशवादी राजनीति गरेको भन्दै आक्रोश व्यक्त गरे । उनले नेकपामाथि पनि देशमा अराजकता मच्चाउँदै न्यायपालिकालाई कार्यकर्ता भर्ती केन्द्र बनाएको आरोप लगाए ।

उनले भने, ‘समानुपातिक र समावेशी सिद्धान्तको नाममा अहिले नेकपा र कांग्रेस आफ्नो निहित स्वार्थ्िसद्ध गर्दै छन् र जनतालाई ठगिरहेका छन् ।’

समाजवादी पार्टीले नेताप्रधान नभएर आफूलाई नीतिप्रधान बनाउनु पर्ने बताउँदै उनले भने, ‘संविधानमा नागरिकतासम्बन्धी प्रावधान स्पष्ट भए पनि राज्यले मधेसीमाथि अझै विभेद गरेको छ ।’ उनले उत्पीडन, शोषण र निमुखाका लागि समाजवादीले वकालत गर्ने दाबी गर्दै अब समाजवादी पार्टीले संगठन विस्तार गर्दै जनभावनाअनुसार काम गर्नुपर्ने बताए ।

कार्यक्रममा वरिष्ठ नेता अशोक राईले नागरिकको निर्देशनलाई आत्मसात गर्दै देशलाई दह्रो विकल्प दिन अहिलेको एकता भएको स्पष्ट पारे । उनले देशलाई समतामूलक नेतृत्व दिन समाजवादी पार्टी विचार मिल्नेहरु संगको एकता प्रक्रियालाई अझै निरन्तरता दिने बताए ।

समृद्धिको अखण्ड किर्तनले मात्र देश समृद्ध नहुने जिकीर गर्दै वरिष्ठ नेता राईले समृद्धिको लागि शान्ति, मेलमिलाप, विभेद रहित समाजको निर्माण, समान अधिकार, समावेशिता आदि इत्यादि आवश्यक भएको हुँदा संविधानको संशोधन एक मात्र विकल्प रहेको दाबी गरे ।

यस्तै, राष्ट्रिय उपाध्यक्ष एवं प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले दुई पार्टी बीचको एकताले एउटा राष्ट्रिय अभिभारा पूरा गरेको उल्लेख गर्दै समाजवादी पार्टीले अगामी दिनमा देशकै नेतृत्व लिने दाबी गरे । मुख्यमन्त्री राउतले पार्टीको समावेशी संरचना, पार्टीले लिएको सिद्धान्तबारे गाँउगाँउमा पु¥याउनु पर्ने अहिलेको आवश्यकता रहेको बताए ।

कार्यक्रममा नेताहरुले समतामूलक समृद्ध राष्ट्र निर्माणको लागि सम्मुन्नत संघीय समाजवाद एक मात्र विकल्प रहेको दाबी गरे । यो समाचार आजको द पब्लिक टुडे दैनिकमा छ ।

Scroll to Top