यसरी मनाइयो जनकपुरमा गणतन्त्र दिवस, तस्विरमा हेर्नुहोस्

 

जनकपुरधाम, जेष्ठ १५ गते । प्रदेश नम्बर २ मा १२ औँ गणतन्त्र दिवस विविध कार्यक्रम गरी मनाएको छ । दिवसको अवसरमा प्रदेश नम्बर २ सरकारले जनकपुरमा बुधबार बिहान प्रभातफेरी गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका कार्यालयबाट सुरु भएको प्रभातफेरी जनकपुरधाम नगरको विभिन्न चोकको परिक्रमा गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय परिसरमा पुगेर सम्पन्न भएको थियो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लालबाबु राउतले तीन तहको सरकार बनिसकेकोले अव विकास निर्माण ध्यान केन्द्रीत गरिनुपर्ने बताए । सबैले आ–आफनो जिम्मेवारी पुरा गरेर मुलुकलाई समृद्ध बनाउनुपर्नेमा उनको जोड थियो । यस्तै उनले गणतन्त्रको लागि ज्यानको आहुति दिएका शहीदहरुप्रति श्रद्धाञ्जली अर्पणसमेत गरेका थिए । 

प्रभातफेरीमा प्रदेश सरकारका मन्त्री, सुरक्षानिकायका प्रमुख, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, कर्मचारी लगायतको सहभागीता रहेको थियो ।

यस्तै दिवसको अवसरमा जनकपुरमा बुधबार बिहान सयौँको संख्यामा जम्मा भएका विद्यार्थीहरुले एकताको सन्देश दिँदै जानकी मन्दिरदेखि जनक चोकसम्म मानव साङ्लो बनाएका छन् । 

यता, आज साँझमा दीप प्रज्वलनको तयारी गरिएको छ भने भोलि चियापान कार्यक्रम गर्ने कार्यक्रम रहेको प्रदेश नम्बर २ का प्रमुख सचिव दीपक सुवेदीले जानकारी दिए ।

Scroll to Top