तुलसीपुर, जेठ २० : स्कुलमा ढिलो आएको भन्दै निर्मतापूर्वक विद्यार्थी कुट्ने शिक्षिकालाई रोल्पा प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको रुम्टीगढी गाउँपालिका– ८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनले ढिलो आएको भन्दै १४ जना विद्यार्थीलाई कुटपिट गरेकी थिइन् । शिक्षिकाको कुटाईबाट पाँच जना विद्यार्थीको हात भाँचिएको थियो ।
इलाका प्रहरी कार्यालय होलेरीबाट गएको प्रहरी टोलीले शिक्षिका पुनलाई सोमबार दिउँसो नियनत्रणमा लिएको हो । उनलाई पीडित पक्षले दिएको जाहेरीका आधारमा कारबाही पक्रिया अघि बढाइने प्रहरीले बताएको छ ।
शिक्षिकालाई इलाका प्रहरी कार्यालय होलेरीमा राखिएको छ । शिक्षिका प्रक्राउ परेसंगै पीडित बालबालिकाका अभिभावकलाई पनि तत्काल ईप्रकामा बोलाएको होलेरी प्रहरीले निवेदन लेख्न भनेपनि आफूहरुले लेख्न नजानेको एक अभिभावकले बताए ।
उपचार खर्च १८ हजार दिने सहमतिमा घटना मिलाएपनि पैसा नदिएपछि घटना सार्वजनिक भएको हो । यसअघि पनि शिक्षिका पुनले विद्यार्थीलाई चरम यातना दिने गरेको नाम नवताउने सर्तमा एक शिक्षिकाले बताईन ।
‘२०७४ असार ११ गते दुुई कक्षामा पढ्ने बालक नरबहादुर पुनलाई कुटेर कान नसुन्ने भएपनि स्कुलले ७ सय रुपैया दिएर घटना मिलायो,’ ति शिक्षिकाले भनिन्, ‘अहिले पनि विद्यार्थीलाई कुटेर ठूलो घटना घटाइन् ।’

उनले विद्यार्थीलाई अनुशासित बनाउने नाममा चरम यातना दिने गरेपनि बा–आमालाई भनेमा झनै कुट्ने भनेपछि डरत्रासले बालबालिकाले जानकारी नगराउने गरेको शिक्षिकाले बताइन् ।
शिक्षिका पुनको कुटाईबाट विद्यालयमा रुवावासी चलेपछि हेर्न नसकेर आफू अफिस भित्र प्रवेश गरेको र छुटाउदा आफैले पनि कुटाई खाइने डरले नजिक जान नसकेको शिक्षिकाहरुले बताएका छन् ।
सोहि दिन १० जना शिक्षक शिक्षिका मध्ये ४ जना मात्रै शिक्षिका विद्यालयमा आएका थिए । जेठ १२ गते निमित्त प्रधानाध्यापकको जिम्मेवारी सम्हालेकी पुनले निजी स्रोतमा कक्षा १ देखि पाँच सम्म पढाउदै आएकी छिन् ।
भौगोलिक विकटताका कारण होलेरी इप्रका देखि अभिभावकहरुको घर टाढा भएकाले कानुन दिलाउने नामम प्रहरीले बोलाएर सोधपुछ गर्दा झनै पिडाबोध हुने गरेको उनीहरुले बताएका छन् ।
रुम्टीगढी गाउँपालिकाले विद्यार्थीलाई पशुजन्य व्यवहार गर्ने शिक्षिकालाई कारबाही गर्न आफू प्रतिवद्ध रहेको जनाएको छ ।
शिक्षिकालाई स्कुलबाट निकाल्नेदेखि कानुनअनुसार कारबाही गर्न प्रहरी प्रशासनलाई पनि भनेको र आफू पनि प्रतिबद्ध भएको गाउँपालिकाका अध्यक्ष बालाराम पुनले बताए ।
‘यसअघि पनि विद्यार्थीलो कुटाई खाने गरेको हल्ला अहिले आइरहेको छ,’ अध्यक्ष पुनले भने, ‘मैले पहिलो पटक सुन्दै छु । घटना दुःखद भएकाले कारबाही हुनुपर्छ ।’