काठमाडौं, जेष्ठ २१ गते । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले संघीयता विरोध बजेट आएको बताएका छन् ।
मंगलबार बजेटमाथि संसदमा भएको छलफलमा भाग लिँदै उनले संघीयताको मर्मअनुसार बजेट नआएको बताए । ‘संघीयता विरोधी यसको सबैभन्दा ठूलो विशेषता हो’ उनले भने, ‘केन्द्रीय सरकारले सबै बजेट चलाउने रे । प्रान्तीय सरकारहरुले २० प्रतिशत पनि बजेट नपाउने रे ।’
महतोले भने, ‘यो बजेट विभेदकारी छ। मधेसको सन्दर्भमा विभेदकारी बजेट छ। ५०-६० प्रतिशत जनसंख्या रहेको मधेसमा २० प्रतिशत मात्रै बजेट आएको छ।’ आफूहरुले ‘केपी ओली मार्का’को नभई स्वायत्त, अधिकार सम्पन्न प्रदेश मागेको उनको भनाइ थियो ।
विदेश नीति, राष्ट्रिय सुरक्षा, मौदि्रक र राष्ट्रिय गौरबका आयोजना बाहेक सबै प्रदेशलाई दिनुपर्ने भन्दै उनले भने, ‘संघीयतालाई असफल पार्ने बजेट आएको छ, यो दुःखद हो । ‘
महतोले स्थानीय तहमा कर्मचारी भर्ना गर्न लोकसेवा आयोगले गरेको विज्ञापनको विरोध गरे । उनले भने, दादा गिरी नगर्नुस्, केपी ओली प्रवृत्ति छोड्नुस् ।’ सांसद महताले सांसदलाई दिएको ६ करोडको विरोध भइरहेको भन्दै निर्वाचन प्रणाली नै फेर्न प्रस्ताव गरे ।
‘संसदहरु चुनावमा जाँदा धर्मसाला बनाइदे, हृयाण्डपाइप माग्दो रहेछ । सांसद भएपनि माग्दो रहेछ’ उनले भने, ‘निर्वाचन प्रणाली नै यस्तै हो । समानुपातिकमा लैजाउँ न ।’
बजेटमाथि भइरहेको छलफल कर्मकाण्डी भएको भन्दै महतोले चर्को आलोचना गरेका थिए । उनले प्रस्तुतकर्ता मात्रै फेरिने गरेको र बजेट उस्तै आउने गरेको आरोप लगाए । उनले भने, ‘जहिले पनि यस्तै बजेट त आउने हो । बजेट प्रस्तुतकर्ता फरक हुन्छ, कुरा त उही हो । योजनाको नाउ फरक हुन्छ, रकम फरक हुन्छ ।’ सरकारमा जो गए पनि परम्परागत बजेट आइरहेको उनको असन्तुष्टि थियो ।