पत्रकार महासंघको आन्दोलनको तुक छैन : सञ्चारमन्त्री बाँस्कोटा

फाइल फोटो

दाङ, जेष्ठ २४ गते । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री गोकुल बाँस्कोटाले नेपाल पत्रकार महासंघले गरिरहेको आन्दोलनको कुनै तुक नभएको बताएका छन् ।

पत्रकार महासंघले बुझेर वा नबुझेर आन्दोलन गरिरहेकोले बुँदागत रुपमा छलफल गर्न उनले आग्रह गरे। २५ हजारदेखि १० लाखसम्म जरिवानाको विषय विवादित भएको र आफू त्यसमा छलफल गर्न तयार रहेको पनि उनले बताएका छन्।

रेडियो नेपालको प्रादेशिक प्रसारण केन्द्रको उद्घाटन तथा भवन शिलान्यासका लागि दाङ आएका बेला नेपाल पत्रकार महासंघ दाङ शाखाले गरेको पत्रकार सम्मेलनमा बोल्दै सञ्चारमन्त्री बाँस्कोटाले यस्तो बताएका हुन् ।

जरिवाना र दण्डको कुराबाट आफू पछि नहट्ने अडान लिँदै उनले छलफल र संवादबाट प्रेस काउन्सिल ऐनमा पुग्न सकिने बताए । मिडियामा आउने समाचारमा नाकारात्मकता बढी देखिएको दाबी गर्दै उनले भने, ‘सडक बन्दै गरेको समाचार नबनाएर बन्दै गरेको सडकका कारण उडेको धुलोको समाचारले बढी स्थान पाएको छ ।’

सरकारले इतिहासमै पहिलो पटक प्रेस जगतलाई नागरिकप्रति थप जिम्मेवार, सत्यतथ्यमा आधारित समाचार सम्प्रेसण होस् भन्ने चाहेको प्रस्ट्याउँदै उनले नियन्त्रण नभएर नियमन गर्न खोजेको जिकिर गरे । सरकारले संसद्मा पेस भएको मिडिया काउन्सिल विधेयकको विरोधमा नेपाल पत्रकार महासंघ यतिबेला विभिन्न चरणको आन्दोलनमा छ। महासंघले भोलि शनिबार बबरमहलमा सञ्चारकर्मीको बृहत् हातेसाङ्लो जुलुस प्रदर्शन गर्दैछ ।

Scroll to Top