जनकपुरधाम, जेष्ठ २५ गते । धनुषामा एक महिलाको शंकास्पद मृत्यु भएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ४ कुचाई टोलकी २५ वर्षीया रेनुका यादवको शुक्रबार राति शंकास्पद मृत्यु भएको हो ।
क्षिरेश्वरनाथ नगरपालिका निवासी अरविन्द यादवले गएराति आफ्नी श्रीमती २२ वर्षया रेणु यादवलाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल ल्याएका थिए । तर, उपचारका क्रममा मृत्यु भएपछि श्रीमतीको शवलाई अस्पतालमै छोडेर फरार भएको माइती पक्षले बताएको छ ।
सामान्य टाउको दुखेको भनी अस्पताल ल्याइएकी छोरीको मृत्यु नै रहस्यमय भएको मृतकका बुबा महोत्तरी बर्दिवास २ का ६८ वर्षीय राम विनय यादव दाबी गर्छन्। ‘छोरीको मृत्यु होइन । हत्या भएको हो,’ यादवले भने, ‘छोरीको बारे राति ३ः३५ मा मलाई फोन आयो । तर, बिहान आउँदा पति र उसका घरका सबै जना फरार थिए।’
बुवा राम विनयमा अनुसार रेणुको को ६ वर्षअगाडि बिहे भएको थियो । त्यसको ६ महिनापछि श्रीमान् अरविन्द विदेश गएका थिए । ‘विदेश गएपछि ज्वाइँले फोन गर्न छाडेकाले समाजले कुरा मिलाएको थियो,’ मृतकका बुबा भन्छन्, ‘घटनापछि किन पति र घरका व्यक्ति भागे?’
छोरीको घाँटीमा पराल राखेर थिचेर मारेको मृतकका बुबाको आशंका छ । मृतकको शव अहिले जनकपुर अञ्चल अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ। पोस्टमार्टमपछि मात्र केही भन्न सकिने जनकपुर अञ्चल अस्पताल प्रशासनको भनाइ छ ।
पीडित माइती पक्षका अनुसार मृतक रेणुका पति झन्डै २० दिन पहिले विदेशबाट गाउँ फर्केका थिए।
धनुषा प्रहरीका प्रवक्ता रामेश्वर कार्कीले भने हत्या नै भएको भन्न सक्ने अवस्था नरहेको बताएका छन् । प्रारम्भिक अनुसन्धानमा औषधिको अत्यधिक प्रयोगले मृत्यु भएको हुन सक्ने देखिएको छ । रेणुले ६० भन्दा बढी ट्याब्लेट खाएको बुझिएको कार्कीले बताए ।