जनकपुरको एक होटेलमा शाकाहारी भोजनमा हड्डीको टुक्रा भेटिएपछि….

शैलेन्द्र महतो
जनकपुरधाम, जेष्ठ ३२ गते ।
जनकपुरको मुजेलिया स्थित सञ्चालित होटेल राजदरबारमा शाकाहारी  खानामा मासुमा भएको हड्डीको टुक्रा भेटिएपछि बेहुला र बेहुली पक्षबिच विवाद भएको छ । होटेल राजदरबारको बद्मासीले विवाह नै भाँडिनेसम्मको अवस्था सृजना भएको थियो ।

[custom-facebook-feed]

जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोक निवासी रामबाबु यादवले छोरीको विवाहको सम्पूर्ण व्यवस्थापन ३ लाख ६५ हजार रुपैयाँमा शुक्रबार राति राजदरबार होटेलमा गरेको थियो । विवाहको लागि सिरहाको सुखीपुर नगरपालिका २ विद्यानगरबाट शिवशंकर यादवको छोराको जन्ती आएको थियो ।

राति १२ बजे बेहुला र बेहुलीबिच स्वयम्बर सकिएपछि बेहुलासहित सबै जन्ती खाना खानको लागि बसे । दुल्हासहित जन्तीका धेरै मानिस शाकाहारी भएकाले पहिला नै होटेलबालालाई भनेर दालभात तरकारीसहति शाकाहारी  भोजनको व्यवस्था गरिएको थियो । तर जव सबैले थालमा खाना थपेर खानाखान शुरु गरे सबैको खानामा हड्डीको टुक्रा फेला पर्न थाल्यो ।

त्यसमा धेरै वैष्णव कन्ठीधारी जन्ती समेत भएकाले आफ्नो धर्म भ्रष्ट गरेको भन्दै जन्तीहरु खाना छाडेर छोरीपक्षमाथि आक्रमक भए । यहाँसम्मकी बेहुलासमेतले विवाहको लागि अस्वीकार गरी राति नै जन्ती फर्किनेसम्मको मनस्थितिमा पुगे । ९० प्रतिशत जन्ती राति नै खाना छाडेर आक्रोसित हुँदै विवाह बहिस्कार गरी घर फर्के । तर बेहुली पक्षको हारगुहारपछि बेहुलाका घरपरिवार विवाह गर्न राजि भए । र बेहुला पक्षका केहि आफन्तजन मात्र बसे । यसमा होटलबालाको चरम बदमासी भएकाले त्यसको निर्णय पछिगर्ने भन्दै बल्ल विवाह सम्पन्न भयो ।

राति विवाद भएको बेला वडा प्रहरी कार्यालयका प्रहरी टोली त्यहाँ पुगेको थियो । हेटेलल व्यवस्थापन पक्षले विहान ७ बजे छलफल गर्ने समय मिलाएको थियो । तर विहानदेखि होटेल संचालक मोर्वाइल स्वीच अफ गरी सम्पर्कभन्दा बाहिर गएका छन् । 

बेहुलीका बुबा रामबाबु यादवले छोरीको विवाह नै भाँड्ने गरी र धर्मभ्रष्ट बनाउने गरी खानमा मासुमा भएको हड्डीका टुक्रा मिसाएकाले होटेलमाथि कडा कार्वाही हुनुपर्ने माग गर्नुभएको छ । ‘ झण्डैले छोरीको विवाहा भाँडिएन । जन्ती पनि खाना नखाई फर्के । होटेलले ठुलो बद्मासी गरेको छ ’, उहाँले भन्नुभयो ‘होटेल संचालकपछि छलफल गर्नेभन्दै फोन अफ गरेर सम्पर्क बिहीन छन् । संचालकमाथि कार्वाहीको लागि म जिल्ला प्रशासनमा उजुरी हाल्छु’

यता मुजेलिया स्थित वडा प्रहरी कार्यालयका ईन्चार्ज बडाबाबु झाले शाकाहारी  भोजमा भेटिएको मासुमा भएको हड्डीका टुक्राहरु प्रमाण स्वरुप राखेको बताउनुभयो । ‘ राति विवाद भएको बेला होटेलमा पुगेर खानामा मिसाइएको हड्डीका टुक्रा हामीले प्रमाण स्वरुप राखेका छौं’ ईन्चार्ज झाले भन्नुभयो ‘ राति होटेल संचालकले विहान ७ बजेको छलफलको समय दिएको थियो । तर अर्को घटनामा जानुपर्दा त्यहाँ पुग्न सकेनौ । होटेल संचालक अहिले सम्पर्क बाहिर छ ।’ पीडित पक्षले उजुरी गरेमा माथिको निर्देशन अनुसार यो मुद्दामा अगाडि बढ्ने उहाँको भनाई छ ।

जनकपुर ढल्केबर सडक खण्डको मुजेलिया स्थित संचालित होटेल सानो समयमा ठुलो चर्चा हाँसिल गरेको छ । तर होटेलमा पटक पटक ग्राहकसंग विवाद हुने गरेको एक प्रहरीले बताए ।


Scroll to Top