द पब्लिक टुडे समाचारदाता
जनकपुरधाम, फाल्गुण २२ गते ।
मिथिलाको ऐतिहासिक तथा धार्मिक १५ दिने माध्यमिकी परिक्रमा आजदेखि सुरु भएको छ ।फागुने औंसीदेखि पुर्णिामासम्म चल्ने परिक्रमा धनुषाको मिथिला विहारी नगरपालिका वडा नं. ८ कचुरी मठबाट भगवान राम र जानकीको डोलासहित सुरु भएको हो ।
परिक्रमामा धनुषा, महोत्तरी र भारत विहारका दर्जनौं धार्मिक ऐतिहासिक ठाँउहरुको ९० किलो मिटर र छिमेकी मुलुक भारतको ३० किलो मिटर गरि जम्मा १ सय २० किलो मिटर भु–भागको यात्रा गरिन्छ ।
आजको दिन धनुषाको कचुरी स्थित मिथिला विहारी मन्दिरबाट झाकी किर्तनसहित रामजानकीको डोला जनकपुरधामको रत्नसाग मठ हुदै जानकी मन्दिर ल्याइन्छ । त्यहाँबाट जानकीको डोला र जनकपुरका अन्य मठमन्दिरबाट ल्याइएका डोलाहरु समेत समावेश गरि परिक्रमा यात्रा प्रारम्भ हुने गर्दछ ।
डोलामा पछि पछि परम्परागत बाजाँगाजा, झाकी किर्तनसहितका मौलिक पहिरनमा लाखौ नरनारीहरु सहभागिता हुने गर्छन् । लावा लस्कर सहितका मधेशको चारै स्थानमा रहेका धार्मिक स्थलहरुको परिक्रमा गर्ने गर्दछ ।
१५ दिने परिक्रममा अन्तर्गत क्रमश जनकपुरको हनुमान नगर, विहारको कलना स्थित कल्यानेश्वर, भारतकै फुलहर स्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई,धुव्रकुण्ड, कञ्चनवन,पर्वता, धनुषाधाम, सतोखर, औरही, करुण (भारत), विसौल (भारत) र यात्राको अन्तिम दिन अर्थात १५ औ दिन जनकपुरको अन्तरगृहपरिक्रम गरि मध्य परिक्रमा सम्पन्न हुनेगर्दछ ।