रेशम चौधरीलाई अस्पतालमा साङ्लो लगाउनेलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

 

काठमाडौं, असार ७ गते । उपचारका लागि वीर अस्पतालमा भर्ना भएका सांसद रेशम चौधरीको खुट्टामा लगाइएको साङ्लो हटाइएको छ ।

[custom-facebook-feed]

संविधान घोषणा हुनु एक महिनाअघि भएको टीकापुर घटनाको अभियोगमा जेल परेका चौधरीलाई उपचारका क्रममा पनि १४ किलोको साङ्लो बाँधिएको थियो। साङ्लो बाँधिएको तस्बिर सार्वजनिक भएसँगै चौतर्फी विरोध भएको  थियो। उनलाई लगाइएको साङ्लो शुक्रबार बेलुका नै हटाइएको छ ।

यसैबीच, साङ्लो लगाउने कार्यमा संलग्नलाई कारबाही गर्न प्रधानमन्त्री केपी ओलीले निर्देशन दिएका छन्। ‘उपचारका लागि लैजाँदा जसले साङ्लो बाँधे, उनीहरुलाई कारबाही गर्न प्रधानमन्त्रीले मुख्य सचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिनुभएको छ’, प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले भने।

फोक्सो र बोनम्यारोमा समस्या देखिएपछि चौधरीलाई वीर अस्पताल भर्ना गरिएको हो। कम्मर र ढाडमा दुखाइ भएपछि उनले अहिले फिजियो थेरापीसमेत गराउँदै आएका छन्। स्थिति सामान्य भए पनि उनी अस्पतालमा बैसाखीकाे सहारामा आएका थिए । उपचारकै क्रममा उनलाई नेल लगाइएको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

Scroll to Top