• The Public Today
  • सर्लाही ‘भिडन्त’ ले धनमाया हत्याको सम्झना आयो : जर्नादन शर्मा


    काठमाडौं, असार ८ गते । सत्तारुढ नेकपाका सांसद एवं पूर्वगृहमन्त्री जनार्दन शर्मा प्रभाकरले यही असार ५ गते सर्लाहीको लालबन्दीमा भएको भनिएको भिडन्तबारे गम्भीर प्रश्न उठाएका छन् ।

    [custom-facebook-feed]

    राज्य व्यवस्था समितिको आइतबार बैठकमा सांसद शर्माले आफूले बुझ्दा सर्लाहीमा विप्लव समूहका जिल्ला इञ्चार्ज कुमार पौडेललाई निर्मम ढंगले मारिएको पाइएको बताए । उनले अघि भने, ‘यो घटना हेर्दा मलाई त धनमायाको हत्या भएको सम्झना आयो, लली रोकाको हत्या भएको सम्झना आयो ।’

    पौडेलको हातसमेत धेरै ठाउँमा भाँचिएको सूचना जनस्तरबाट आएको भन्दै उनले यसलाई पञ्चायती वरवरतासँग तुलना गरेका हुन् । ‘संविधान र कानुनभित्र कारवाही गर्न उचित हुन्छ त्यसमा हाम्रो केही आपत्ति छैन । तर, निर्मम ढंगले मारिएको भन्ने सूचनाहरु जनस्तरबाट बुझेको हुनाले यो मलाई त पञ्चायती बर्बरताको जस्तो कुरा लाग्यो । सत्य के हो, त्यो चाहियो, सत्य यो हो भनेर भन्नुपर्‍यो जनतालाई ।’

    सांसद शर्माले जनतालाई भड्काउने खालका घटनाहरु भइरहेको बताउँदै त्यसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई पनि असफल पार्न सक्ने आशंका गरे । उनले यस्ता घटनालाई रोक्नुपर्नेमा जोड दिए ।

    शर्माले भने, ‘विभिन्न ढंगले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसरी असफल गर्ने भनेर चौतर्फी रुपमा घेराबन्दी पनि भइराख्या छ । मास भड्काउने, जताबाट पनि गणतन्त्रमा ल्याएर जोडिदिने । यदि हामीले त्यसलाई सच्याउन सकेनौं, कारबाही गर्न सकेनौं भने, त्यसले राम्रो दिशातिर लैजाँदैन ।’

    प्रहरीले घटनामा कुमारको समूहले गोली चलाएपछि आफूहरुले प्रतिरक्षाका लागि फायर गरेको दावी गरे पनि आफन्त र विप्लव समूहले भने नियन्त्रण लिएर कुमारको हत्या गरिएको बताएका छन् ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस