सर्लाही घटनाको छानबिन गर्न सरकारलाई संसदीय समितिको निर्देशन

 

काठमाडौं, असार ९ गते । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेल मारिएको घटनाको सत्यतथ्य पत्ता लगाउन तत्काल छानबिन गरी एक साताभित्र प्रतिवेदन बुझाउन सरकारलाई निर्देशन दिएको छ।

[custom-facebook-feed]

समितिले सोमबार गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग छलफल गरेपछि पौडेल मारिएको सो घटनाको सत्यतथ्य पत्ता लगाउन तत्काल छानबिन गरी एक साताभित्र समितिमा प्रतिवेदन बुझाउन गृह मन्त्रालयलाई निर्देशन दिइएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिइन्।

बैठकमा समितिका सदस्यहरुले सरकारले मुठभेढमा नभई चन्द नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज पौडेललाई हत्या गरेको दाबी गर्दै सत्यतथ्य तत्काल बाहिर ल्याउन माग गरेका थिए।

समितिका सदस्य एवम् पूर्व गृहमन्त्री जनार्दन शर्माले ५/६ ठाउँ हात भाँचेर हत्या गरिएका पौडेललाई मुठभेढमा मारिएको भनेर सरकारले मुलुकमा द्वन्द्व निम्त्याउने काम आफैंले गरेको भन्दै आपत्ति जनाए । संवैधानिक बाटोबाटै संविधान उल्लंघन गर्नेहरुलाई कारबाही गनुपर्नेमा सरकार आफैंले गलत बाटो लिएको उनको भनाइ थियो ।

Scroll to Top