‘भ्रष्टाचार गरेको देखाउनुस्, मेयर पदबाट राजिनामा दिन्छु’ {अन्तर्वार्ता}

 

महोत्तरीको औरही नगरपालिकमा शनिबार साँझ तोडफोड भयो । त्यसको नेतृत्व उपमेयर रेनु झाले गरेकी थिइन् । शनिबार कार्यालय खोलेर कर्मचारीहरुसंग मिलेर मेयर सुनिल कुमार यादवले भ्रष्टाचार गरेको आरोप लगाउँदैं उपमेयर झा एक हुल मानिस लिएर कार्यायल पुगेकी थिइन् ।
के मेयरले अनियमितता र मनौमानी गरेकी हो त, उपमेयरलाई हेपेकै हो त जस्ता अनेकौं प्रश्नहरु जनमानसमा उब्जिएको छ । यिनै प्रश्नहरुको जवाफ खोज्न हामी औरही नगरपालिका मेयर
सुनिलकुमार यादवलाई भेटेका थियौं । युवा पत्रकार तथा समाजिक अभियन्ता राजकरण महतोले उनीसंग गरेका कुराकानीको सम्पादित अंश प्रस्तुत छ :

? औरही नगरपालिका किन तनाव ग्रस्त बन्दैछ, मेयर ज्यू ?
— नगरपालिकाको लेटर प्याडमा उपमेयर ज्यूले जुन प्रेस विज्ञप्ती निकाल्नुभयो नि त्यो नै सरकारी कागजको दुरुपयोग हो । यहाँ उहाँले ठूलो गलती गर्नुभयो । राजनितिक फाइदा लिनेहरुले नगरपालिका अस्तव्यस्त विवाहदित बनाउन खोजिरहेका छन् । त्यो हुन्न दिन्नौं ।

? तराई मधेश समृद्धि कार्यक्रमको २५ लाख बजेट विना परिषद् बसाई ब्रह्म लुट गरेको आरोप उपमेयरको छ, यो साँच्चो होे ?
— हामीले यो बजेट कार्यपालिकाबाट निर्णय गरेर काम गरिरहेका छौं, तपाई निर्णय हेर्न सक्नुहुन्छ । निर्णय गरेर काम भएको छैन भने म दोषी हुनेछु । यो बजेटको कार्यप्रगति हेर्नुस् । यो बजेटको ब्रह्म लुट भएको छ कि साह्रै राम्रो काम भइरहेको छ गएर हेर्नुस् ।

? उपमेयरले हजुरलाई भन्नुभएकोछ, ‘म अनुगमन गर्ने हुँदा हुदैं विना अनुगमन गराई कर्मचारीहरुसंग मिलेर रकम फर्छौट गरेको ’ अर्को आरोप छ नि ?
—अनुगमन समितिको अर्थ के हो भन्ने कुरा उहाँले बुझ्नु नै भएको छैन । उहाँले एक दिनमा कति वटा योजना भियाउनुहुन्छ, अनुगमन गरेर प्रतिवेदन तयार गरेर दिनु पर्ने हो ।तर, आजसम्म उहाँले त्यो काम गर्नु भएको छैन । असार मसान्तको चापमा उहाँ १५ दिन अघिदेखि नगरपालिकामा नियमित बस्न थाल्नुभएको छ । जिल्ला समन्वय समिति र उपमेयर ज्यूले अनुगन गर्नुभयो, आज सम्म प्रतिवेदन पेश गर्नुभएन । प्रतिवेदन दिएपछि न, कहाँ के छ, थाहा हुन्छ । उपभोक्ताले मापदण्ड र सम्झौता अनुसार काम गरिसकेपछी उसको भुक्तानी रोक्ने अधिकार कोही संग छैन । गत बर्ष र चालुआर्थिक बर्षमा पनि उहाँलाई कुरा मिल्यो त्यो ठाउँको योजनामा मात्रै अनुगन गर्नुभयो । आफ्नो आसेपासेको योजना छ भने अनुगन गर्ने अर्काको भए नगर्ने उहाँको प्रवृत्ति छ । पटकै अनुगमन नगरेको होइन, केही केही ठाउँमा गर्नु पनि भएको छ ।

? प्रधानमन्त्री स्वरोजगार कोषकोे रकम कार्यपालिकाको बैठक नगरि घरघरमा म्यानेट छाँप गरेर खर्च गर्न लागेको उपमेयरको अर्को आरोप छ, यो चाहि के हो ?
— यो कार्यक्रममा १७ लाख बजेट छ । भर्खरै जानकारी भएको छ । कुनै निर्णय गरिएको छैन । बजेट जस्ताको त्यस्तै छ ।

? न्यायिक समिति व्यवस्थापनमा व्यापक अबरोध सिर्जना गरेको भन्ने उपमेयरको आरोप छ नी ?
—हामी आएको दुई बर्ष भयो । न्यायिक समितिको लागि उहाँले भन्नुभएको हल हामीले तयारी गरिदियौं । न्यायिक समितिको सहयोगको लागि हामीले वकिल राख्न खोज्दा उहाँले आफैले राख्ने भन्नुभयो । वकिल राख्न उहाँकै जिम्मामा छोडिदिए । पटक पटक भन्दा पनि कानुनी सल्लाहकारको नाम पनि दिनुभएन, राख्नु पनि भएन । कसैको काम र कर्तव्य कसैले रोकेर रोकिनेवला छैन । उपमेयर ज्यूले भन्नुहुन्छ, मेयरले पंचैती गर्नु दिनु भएन ? अब भन्नुस्, उहाँको मैले हातखुट्टा बाँधेर राखेको छु, जनताहरु समस्या लिएर आएपछी मैले न्यायिक समितिमा पठाएको छु, तर, मान्छेले भन्छ, मेयर ज्यू, तपाई गरिदिनुहुन्छ भने गरिदिनुस्, उहाँलाई केही आउँदैन। उहाँ पंचैती गर्नु सक्नुहुन्न भनेर जनता उपमेयरको टेवलमा जानै मान्दैन ।मेरो आफ्नै कार्यव्यस्ता छ । पंचैती गरेर बस्ने मेरो सख छैन ।

? औरही नगरपालिका गठन भएदेखिनै मेयर र उपमेयरको विवाद हुदैं आएको छ, जुन तोडफोडको रुपमा परिणत भयो । यो किन ?तपाई भन्नुन्छ सबै काम कानुनकै आधारमै गर्छु ?
— हाम्रो कार्यपालिकामा ५० जना सदस्य हुनुहुन्छ । हामीले कुनै निर्णय गर्दा ४९ जानाले सही गर्नुहुन्छ, उपमेयर ज्यूले गर्नु हुन्न । पार्टीकै कुरा गर्नु हुन्छ भने राजपाबाट उहाँ नेतृत्व गरिराख्नुहुन्छ । तीन वटा वडा अध्यक्ष उहाँकै पार्टीको छ । निर्णयमा उहाँको पार्टीका वडा अध्यक्षहरु सही गर्नुहुन्छ । ५० जनामा उहाँ एक जना मात्रै ठीक, हामी सबै बेठीक कसरी भयौं ।

? अनि तोडफोड किन भयो नगरपालिकामा ?
— जुन दिन तोडफोड भयो, त्यही दिन हामी बैठकमा बसेका थियौ । नौं वटै वडा अध्यक्षहरुलाई बोलाएका थियौं, एक जना म त्यसमा थिए । बैठकमा कुरा गर्यौं, नगरपालिकामा कर्मचारी थोरै छ, ४७ जनामा ६ जना कर्मचारीहरु मात्रै छन् । त्यसमा पनि कसरी कर्मचारीहरुबाट काम लिने छलफल भएको थियो । कर्मचारीहरुलाई अलिकति सुविधा दिएर उनीहरुलाई खटाउन सक्छौं, निर्णय गरौं, अहिले भुक्तानी दिनु पर्ने समय छ । नगरसभा पनी गर्नु छ ।त्यसपछी हामीले भोली पल्ट उपमेयर सहितको बैठक बोलाएका थियौ ।त्यसै दिन उहाँको नेतृत्वमा तोडफोड भयो ।
उपमयर ज्यूले आफ्नो डिसिजन लिन नसक्दा आज नगरपालिकामा तोडफोड भयो । असारका कामहरु सक्न कर्मचारीहरुले शनिबार काम गरेको हो । मैले कुनै ठाउँमा भ्रष्टाचार गरेको उपमेयर ज्यूले प्रमाणित गर्नुभयो भने म नैतिकताको आधारमा मेयर पदबाट राजिनामा दिन्छु । आरोप लगाएर मात्रै हुदैंन । मैले लाखैं गलत गरेको थिए भने, प्रहरीप्रशासन थियो, अख्तियार थियो, छलफल गर्न सकिन्थ्यो ।तर, गुण्डागर्दी शैलीमा कार्यालय लुट्ने अनि तोडफोड गर्न मिल्छ, कदापी पनि मिल्दैंन । यो घटनाका दोषीहरुमाथि कानुनी उपचार खोज्ने हामीले कार्यपालिकाबाट निर्णय लिएका छौं ।

प्रकाशित मिति : २०७६ असार १० गते मंगलवार

Scroll to Top