विप्लव समूहका गतिविधिलाई तह लगाउँछौं : गृहमन्त्री थापा

 

द पब्लिक टुडे समाचारदाता
काठमाडौं, फाल्गुण २२ गते ।

गृहमन्त्री रामबहादुर थापाले विस्फोटनका घटनामा संलग्न विप्लव समूहका गतिविधिलाई तह लगाउने दाबी गरेका छन् । 

बुधवार धनगढीमा पत्रकारसँग कुराकानी गर्दै गृहमन्त्री थापाले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई इङ्गित गर्दै केही समूहबाट यो बीचमा विष्फोटन र ध्वंसात्मक गतिविधि गर्ने काम भइरहेकाले यी घटनामा सरकार गम्भीर बनेको बताएका हुन् । उनले भने, ‘यस्ता गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिइरहेका छौं ।’

उनले कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाई कानूनको कठघरामा ल्याइछाड्ने प्रतिबद्धतासमेत व्यक्त गरे । गृहमन्त्री थापाले भने, ‘छिटोभन्दा छिटो अपराधीलाई कानूनको कठघरामा उभ्याउने छौं ।’ घटना भएको शुरूको अवस्थामा लापरवाही हुँदा अनुसन्धानमा जटिलता पैदा भएको बताउँदै उनले उक्त घटनामा अनुसन्धान कार्य भइरहेको बताए । 

एकाधिकार कानूनीरुपमा अन्त्य गरिसकिएको बताउँदै उनले यसलाई व्यवस्थित बनाउन आवश्यक कानून निर्माणको चरणमा सरकार रहेको जानकारी दिए ।

उनले सङ्घीय संसद्मा सङ्घीय प्रहरी र प्रदेश प्रहरीसम्बन्धी कानून निमार्णको अन्तिम तयारी भइरहेको जानकारी दिए । सुरक्षा गोष्ठीमा सहभागी हुन उनी आज धनगढी पुगेका हुन् ।

Scroll to Top