शैलेन्द्र महतो / जनकपुरधाम, फाल्गुण २४ गते । एकधुर जग्गामा सानो छाप्रो। माथिबाट खरले छाएको। त्यसमा पनि वर्षा महिनामा पानी चुहिन्छ भनेर च्यातिएकै प्लास्टिकले टालटुल पारेको छ।
त्यही सानो झुपडीमा लगाइएको छ तीनवटा ढोका। एउटा ढोकाकै अगाडी सहजै देखिन्छ शौचालयको पुरिएको सीट। झुपडीमा तीनवटा ढोका लगाइएपनि भित्र भने सहजै बस्न सक्ने ठाउँ छैन। तर त्यसैमा खाने, लाउने, बस्ने सुत्ने सबै काम गर्नुपर्छ धनुषाको लक्ष्मीनिया गाउँपालिका २ की पानो दास तत्माकी ३ छोराको परिवारलाई।
खुट्टा तन्काएर सुत्न समेत नसकिने सानो झुपडी छोराहरु छुट्टिएपछि आपसमा बाँडफाँड समेत गरिसकेका छन्। त्यसैमा पानो देवी दासको भागमा परेको छ सानो गल्ली जतिकै ठाउँ।
पानोदेवीका जेठा छोरा श्रीचन्द्र दासका दुईछोरी, एकछोरा र श्रीमती गरी ५ जना सदस्य छन्। माहिलो चन्देश्वरको श्रमती र एक छोरी गरी ३ जना र कान्छो विन्देश्वरका श्रीमती र एकछोरी गरी ३ जना छन्। पानोदेवीको तीन छोरा, तीन बुहारी र ५ जना नातिनातिना गरी १२ जना परिवारिक सदस्य त्यही सानो झुपडीमा कष्टपूर्ण गुजारा गर्दै आएका छन्।
वर्षाको बेला झन् विजोग हुन्छ। माथिबाट पानी चुहिन्छ, तल पानी पसेपछि उनीहरुलाई पाईला राख्ने समेत ठाउँ हुँदैन। तर पनि जेनतेन यसैमा गुजारा गर्ने गरेको पानोदेवी बताउँछिन्।
गाउँलाई खुल्ला दिशामुक्त गर्न सबैको घरमा शौचालय निर्माण गरिएको थियो। सोही क्रममा पानोको घरमा पनि सौचालय निर्माण गरेको थियो। छोराहरु छुट्टिँदा जेठो छोराको भागमा शौचालय परेपछि बस्नको लागि शौचालय नै पुर्नु परेको स्थानीय रामकरण दास बताउँछन्। शौचालय पुरिएपछि पानोकाे परिवारका सदस्य चौरमै खुल्ला स्थानमा दिसा गर्न जाने गरेका छन्।
अत्यन्त गरिबीको कारण साहु महाजनले नपत्याए ऋण नदिँदा पानोका तीनै छोराहरु विदेश जान समेत पाएका छैनन्। सबै छोराहरु गाउँमै दैनिक ज्याला मजदुरीमा काम गर्ने गरेका छन्। विदेश जान पाएको भए परिवारको आर्थिक अवस्था सुधार हुन्थ्यो। जग्गा किनेर घर ठड्उन पाइन्थ्यो भन्ने उनीहरुको आशा छ। तर साहु महाजनले ऋण पनि नदिँदा उनीहरुको आर्थिक अवस्था माथि उठ्न सकेको छैन।
‘हामीलाई बस्ने ठाउँ समेत छैन। साहु महाजनले विश्वास गरेर ऋण दिँदैन। पैसाको अभावमा पासपोर्ट बनाउन सकेको छैन। विदेश जान कसरी सम्भव छ?’ आगनीमा साबेको डोरी बनाउँदै गरेका माहिलो छोरा चन्देश्वरले भने ‘चुनावमा नेताहरु जग्गा खोजेर घर बनाइदिने, रोजगारमा लगाइदिने आश्वासन दिएर जान्छन्। जितेर गएपछि फर्केर आउँदैनन्। हाम्रो त जिन्दगी नै यसरी कट्ने हो।’
स्थानीय सोम सहदा समुहका अध्यक्ष रामकरण दास भन्छन् ‘चुनावमा उम्मेदवारहरु आउँदा विभिन्न प्रलोभन दिन्छन्। र १/२ हजार रुपैयाँ दिएर भोट किनिहाल्छन्। पानोका तीनै छोराको परिवार घरको अभावमा निकै कष्टपूर्ण जीवन व्यतित गरिरहेका छन्।’
जेठो छोराको परिवार ५ जनाको भएकाले घरभित्र खाना पकाउन चुल्हो समेत नअट्ने भएका कारण स्थानीयहरुले मिलाएर ग्यास चुल्हो व्यवस्था गरिदिएका छन्।
झुपडी बाहिर पाइला टेक्ने सम्मको जग्गा छैन। थोरै खाली जग्गा छ। छिमेकले कहिले काही छेकवार लगाई दिँदा उठबस गर्न निकै समस्या हुने गरेको स्थानीहरुको भनाई छ।
छोराहरुलाई रोजगारीको व्यवस्था भए देखि घरघडेरी जाेड्न पाउँथे भन्ने आमा पानोको आशा छ ।