जनकपुरबाट अवैध सुनचाँदी सहित दुई जना पक्राउ

जनकपुरधाम, फाल्गुण २७ गते । जनकपुरबाट अवैध सुनचाँदीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । २५ किलो चाँदी र सय ग्राम सुन सहित दुईजना भारतीय नागरिकलाई जनकपुरबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भारत विहार राज्य मधुवानी जिल्ला बासोपट्टी–४ बस्ने वर्ष ३७ का कृष्ण कुमार महतो र सोही गाउँका ३० वर्षका रुपेश महतो छन् । आइतवार बेलुका जनकपुरबाट लोहना हुँदै भारत जान लागेको बिआर ३२ एस ४३५७ नम्बरको मोटरसाइकलमा लोहना जाने सडकमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले सोमवार विहान पत्रकार सम्मेलनको गरि सार्वजनिक गरेको छ ।

विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सुनको बाला १ थान, गोलो टुक्रा १ थान र ९ प्याकेट चाँदीको दाना बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक शेखर खनालले बताए ।उनका अनुसार बरामद भएको सुनको मूल्य रु. ५ लाख २४ हजार ७ सय र चाँदीको मूल्य रु.१६ लाख १८ हजार २ सय ५० रुपैँया रहेको छ ।

चेकजाँच गर्दा मोटरसाइकल ट्याङकी मुनिबाट प्वाल बनाइ प्वालमा ढोकाजस्तो नट कसेको अवस्थामा रहेकोमा नट खोली हेर्दा सेतो प्लास्टिकमा बेरेको अवस्थामा सुन र चाँदी बरामद गरेको उनले बताए । पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान भैरहेको प्रहरी उपरीक्षक खनालले बताए ।

Scroll to Top