शैलेन्द्र महतो / जनकपुरधाम, फाल्गुण २८ गते । चिकित्सकको लापरवाहीले बुबाको मृत्यु भएपछि फोटो खिच्न गएका दुईछोरा कुटिएका छन् । धनुषाको मिथिला नगरपालिका ६ का ५७ वर्षका रामनारायण खत्वेको जनकपुर अञ्चल अस्पतालमा चिकित्सकको लापरवाहीले मृत्यु भएपछि उनका दुईछोरा कुटिएका हुन् ।
हृदयघातबाट सिकिस्त भएपछि मंगलबार विहान साढे १० बजे खत्वेलाई उपचारको लागि जनकपुर अञ्चल अस्पतालको अकास्मिक कक्षमा भर्ना गरिएको थियो । भर्नाको आधाघण्टापछि खत्वेको निधन भएको थियो । चिकित्सकले समयमामा उपचार नगर्दा बुबाको ज्यान गएको भन्दै उनका जेठा छोरा ३१ वर्षका रमेश मण्डल र २३ वर्षका राजाराम मण्डल चिकित्सकको फोटो खिच्न गएका थिए ।
प्रत्यक्षदर्शीका अनुसार घर लग्न मृतक बुबाको शव एम्बुलेन्समा राखेर दुवैभाई चिकित्सकको फोटो खिच्न गएको बेला डिउटीमा रहेका चिकित्सकहरुले कुटपीट गरेका हुन् । ‘बुबालाई भर्ना गराएपछि चिकित्सकले भने अनुसार पूजा कटाएर ल्याए, औषधि ल्याए । तर समयमा डाक्टरहरुले उपचार गरेनन्, आलटाल गर्यो ।’ जेठा छोरा रमेशले भने ‘चिकित्सक अलिकता यता उता चेक गरेर कुर्सीमा गएर बस्यो । एकछिनमा बुबाको मृत्यु भयो ।’
रमेशका अनुसार बुबाको शव घर लग्न एम्बुलेन्समा राखेर भाइ राजारामलाई त्यहाँ बसेका डाक्टरको फोटो खिच्न र डाक्टरको नाम सोधेर आउन लगाए । उनले भने ‘पछिपछि म पनि गए । भाईले फोटाे खिच्न मोवाईल तेर्साएपछि त्यहाँ काउण्टरमा बसेका डाकटरले मोवाईल खोसे । र अन्य दुईजना डाक्टरले कुटपीट गर्न थाले । पछि ईमरजेन्सीमा रहेका सबै डाक्टरहरु कोठामा लगेर दुवैभाईलाई लात,खुट्टा र हातले लगा च्यत्ने गरी कुटपीट गरे । डिउटीमा रहेका एक प्रहरीले पनि बचाउनुको साटो उल्टै कुटपीट गरे ।’ डिउटीमा रहेका मेडिकल अफिसर सावन यादव, अहेब उज्वल झा, अहेब देवेन्द्र ठाकुर लगायतका डाक्टरहरुको समुहले कुटपीट गरेको रमेशले बताए ।
चिकित्सकको लापरवाहीले बुबाको मृत्यु र दुवै छोरालाई कुटपीट गरेपछि विहान ११ बजेदेखि नै अस्पतालमा तनाब बढेको छ । मृतक खत्वेको शवलाई आकास्मिक कक्षको गेटमा राखिएको छ भने उनका आफन्तहरु कुटपीट गर्ने चिकित्सकहरुलाई कार्वाहीको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।
यता त्यतिबेला ईमर्जेन्सीमा डिउटीमा रहेका चिकित्सक डा. सावन यादवले आफुहरुले समयमा उपचार गर्दा समेत विरामी गम्भीर भएको कारण बचाउन नसकेको बताए । उनले फोटो खिच्न आएको बेला होहल्ला भएको तर कसैलाई कुटपीट नभएको दावी गरे ।
घटना पश्चात अस्पताल प्रशासन पक्ष र पीडित पक्ष छलफलको लागि बसेका छन् । पीडित पक्षले ईमार्जेन्सी कक्षमा सीसीटीभी क्यामेरा जडान भएकाले त्यसमा प्रमाण सुरक्षित रहेकाले दोषी तिकित्सकहरुलाई कार्वाही र क्षतिपुर्तिको माग गरेका छन् ।
घटना छानविन गर्न समिति गठन
जनकपुर अञ्चल अस्पतालमा चिकित्सकद्वारा भएको कुटपीटको घटना छानविन गर्न १० सदस्य छानविन समिति गठन भएको छ । मंगलबार विहान भएको घटना पश्चात पीडित परिवार र आफन्तजनले दोषीमाथि कार्वाहीको माग गर्दै प्रदर्शन गरेपछि छानविन समिति गठन भएको हो ।
मेडिकल सुपरिटेन्डेन्ट डा. नागरेन्द्र यादवको संयोजकत्वमा दुबैपक्षबाट ५।५ जना रहनेगरी १० सदस्य टोली गठन भएको जनाएको छ । मेसु यादवले घटनाको सत्यतथ्य छानविन गरी प्रतिवेदन तयार गर्ने बताए ।
छानविन समिति गठन पश्चात पीडित परिवारले शव उठाएको छ ।