नेपाल सद्भावना पार्टीको पुनर्गठन, सिंहको नेतृत्वमा ४५ सदस्यीय कार्यसमिति

 

द पब्लिक टुडे समाचारदाता-
जनकपुरधाम , चैत्र ३ गते ।
मधेश राजनीतिमा स्थापित स्व.गजेन्द्र नारायणसिंहको नेपाल सद्भावना पार्टीको पुनःर्गठन भएको छ । नेपाल सद्भावना पार्टीको जनकपुरधाममा बसेको दुइदिने विस्तारित बैठक सकिएलगत्तै आयोजित पत्रकार सम्मेलनमार्फत पार्टी पुनःर्गठनको घोषणा गरिएको छ ।

पुनःर्गठन भएको नेपाल सदभावना पार्टीमा प्राध्यापक राजेन्द्र प्रसाद सिंहको नेतृत्वमा ४५ सदस्यीय राष्ट्रिय कार्य समिति चयन गरिएको छ । अध्यक्ष प्राध्यापक राजेन्द्रप्रसाद सिंहले स्व.गजेन्द्र नारायण सिंहले समतामुलक समाज निर्माणको लागि गरेका अठोटहरु मधेशको नाममा पार्टी खोलेकाहरुले बेचेकोले नेपाल सद्भावना पार्टीलाई पुनजिर्वित गर्नुपरेको बताउनुभयाे ।

उहाँले पार्टीको मुख्य एजेण्डा समतामुलक समाजको स्थापना, संघीयता, हिन्दी भाषामा सरकारी कामकाजको भाषाको मूल एजेण्डासहित पार्टी अघि बढ्ने बताउनुभयाे ।

नेपाल सद्भावना पार्टीको संस्थापक अध्यक्ष गजेन्द्र नारायण सिंहले उठाएका संघीयता, समावेशी, पहिचान, सेनामा मधेशी समुदायको पहुँच जस्ता विषयलाई मधेशवादी दलहरुले समेत सत्ता लिप्सामा लागेर छाडेको र सम्पुर्ण मुद्दाहरुको माग लागि पार्टी अघि बढने अध्यक्ष सिंहको भनाई थियो ।

उहाँले मधेशी बटालियनको व्यवस्था, विभेदकारी नीतिको समाप्ति, धार्मिक तथा सांस्कृतिक सुरक्षाको ग्यारेन्टी जस्ता विषयलाई लिएर आफुहरु सडक आन्दोलन गर्ने चेतावनी दिनुभयाे ।मधेशी आदिवासी जनजाति, मुस्लिम, थारु, शोषित–पीडित तथा उपेक्षित समूदायलाई एकसुत्रमा बाँधेर मधेश आन्दोलनको प्रस्फुटन गर्ने समेत उहाँले दाबी गर्नुभयाे ।   

Scroll to Top