सिके राउत पार्टीको नाम ‘जनमत पार्टी’

सिराहा, चैत्र ४ गते । सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनको नाम परिवर्तन भएको छ । सोमबार सम्पन पार्टीको राष्ट्रिय परिषद बैठकले गठबन्धनको नाम परिवर्तन गरेर पार्टीकाे नाम अब ‘जनमत पार्टी’ राख्ने निर्णय गरेको छ ।

यसअघि राउत समूह ‘स्वतन्त्र मधेस गठबन्धन’ का नाममा सक्रिय थियो । लाहानमा चलेको दुई दिने पार्टीकाे परिषद बैठकले जनमत पार्टीको ३५ सदस्यीय केन्द्रीय कार्यसमिति समेत चयन गरेको छ । पार्टीको अध्यक्षमा डा. सिके राउत रहेका छन् भने ३४ जना सदस्य छन् ।

यस्तै पार्टीको झण्डा रातो, सेतो र हरियो रङको ठाडो धर्काको बीचमा बीचको सेतो स्ट्रीपमा रातो रङको अष्टदल रहने निर्णय गरिएको छ भने पार्टीकाे चुनाव चिन्हमा ‘अष्टदल’ राख्ने गरी निर्वाचन आयोगमा निवेदन दिने निर्णय पनि गरेको पार्टीका केन्द्रीय सदस्य अब्दुल खानले जानकारी दिए ।

आयोगमा दर्ता भएपछि हाल कायम रहेको केन्द्रीय समिति थप विस्तार गरिनेछ । दुई साताअघि सरकारसँग ११ बुँदे समझदारी भएपछि सीके राउत मुलधारको राजनीतिमा आएका थिए । सरकारसँग सहमतिपछि राउतको यो पहिलो औपचारिक बैठक हो ।