सप्तरी, चैत्र ५ गते । सप्तरीमा नापी कार्यालयका एक कर्मचारी अख्यिारको फन्दामा परेको छ । राजविराजको एक होटलमा सेवाग्राहीसँग घुस लिदैं गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नापी कार्यालयका एक कर्मचारीलाई सोमबार नियन्त्रणमा लिएको छ ।
नापी कार्यालय राजविराजको जन्जिरदार पदमा कार्यरत पिन्टुकुमार यादवलाई सेवाग्राहीसँग २६ हजार लिदैं गरेको अवस्थामा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
साविक तरही गाविस ३ हाल डाक्नेश्वरी नगरपालिका ३ को गाउँ ब्लकको जग्गा नापी गराइदिने प्रयोजनको लागि टोलीमा कार्यरत कर्मचारीहरूबाट सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवंम उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले यादवलाई राजविराजस्थित थारु रिसोर्टबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।