जनकपुरधामका मेयर साह ‘महामुर्ख’

 

शैलेन्द्र महताे-
जनकपुरधाम, चैत्र ६ गते ।

प्रत्येक वर्ष झै यसवर्ष पनि होली पर्वको अवसरमा जनकपुरधाममा हास्यव्यंग्य सांस्कृतिक कार्यक्रम महामुर्ख सम्मेलन सम्पन्न भएको छ । यसवर्ष महामुर्खको उपाधि जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले पाउनु भएको छ ।

मिथिला नाट्य कला परिषदको आयोजनामा बुधबार सम्पन्न महामुर्ख सम्मेलनमा उहाँलाई महामुर्खको उपाधि प्रदान गरेको हो । यस्तै नेकपाका प्रदेश २ सांसद रामचन्द्र मण्डललाई बैशाखनन्दन, राजा प्रदेश सांसद प्रमेश्वर साहलाई डपौर शंख, नेपालकै कान्छो मेयर धनुषाका सहिद नगरपालिकाका मेयर उदय बरबरियालाई लोढा शंकर, साहित्यकार एवं कम्युनिष्ट नेता रोशन जनकपुरीलाई चपाटनन्दको उपाधि प्रदान गरिएको छ ।

यस्तै राजपाका केन्द्रिय प्रवक्ता कृष्णा सिंहलाई वंश कुढारी, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीलाई मुसरीलाल, प्रध्यापक प्रमेश्वर कापरलाई हराशंख, नेपाल शिक्षक संघ प्रदेश २ का अध्यक्ष मेघनाथ यादवलाई बज्रकीट, बस व्यवसायी संघका नेता मनोज चौधरीलाई वोतलानन्द, व्यवसायी हिराभगतलाई खेसारीलाल, कावित्री पुनम झा मैथिलीलाई मनतोरिया र सम्झना वर्मालाई जिलेवियाको उपाधी मिनपले प्रदान गरेको हो ।

मिथिलाको कला संस्कृतिलाई संरक्षण सम्बद्र्धन गर्ने उद्देश्यले गरिएको यस कार्यक्रममा हाँस्य व्यंग्य नाटक, गीतसंगीत कविता , जोगिरा लगायत प्रस्तुत गरिएको छ । प्रस्तुति हेर्न जानकी मन्दिर प्रांगणमा दर्शकहरुको घुइचो लागेको थियो ।

प्रत्येक वर्ष तराई होलीको एक दिन पूर्व विभिन्न होरीको गीत संगीत ,नाटक , कविता बाचन लागयत प्रदर्शन गर्ने गरिन्छ । यस सम्मेलनमा जनकपुर क्षेत्रकमा बुद्धिजिवी मध्येका एक जना विशिष्ट व्यक्तिलाई छनोट गरी व्यंग्य स्वरुप महामर्खको उपाधि दिने गरिन्छ । त्यस्तै अन्य बुद्धिजिवी प्रतिष्ठित व्यक्तिहरुलाई विभिन्न उपनाम दिदै मुर्खको उपाधी प्रदान गर्ने गर्दछन् ।

Scroll to Top