दश दिनदेखि सञ्चार विच्छेद

सिमकोट, मंसिर २९ गते : हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिका–६ मा दश दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । वडा नं ६ लिमीको हल्जी गाउँमा राखिएको भिस्याट टेलिफोन सेवामा खराबी आएपछि यस क्षेत्रका नागरिक दश दिनदेखि सञ्चार विच्छेद भएका छन् ।

भिस्याट टेलिफोन सेवा अवरुद्ध हुँदा जिल्लाबाहिर रहेका आफन्त तथा जिल्लाभित्रै रहेका आफन्तसँग सम्पर्कमा जोडिन नसकेको स्थानीयवासीले गुनासो गरेका छन् । सदरमुकामसँग छ महिना सम्पर्क विच्छेद हुने दुर्गम हिमाली गाउँमा नेपाल टेलिकमले राखेको भिस्याटमा दश दिनदेखि खराबी आएको छ ।

नेपाल टेलिकमले केही दिनमा समस्या हुने बताएको छ । तिल र जाङ गाउँमा पनि पटक पटक भिस्याट लाइनमा समस्या आउँदा हिउँदको समयमा जिल्लाबाहिर सञ्चार सम्पर्क गर्न समस्या हुने गरेको छ । रासस