गृहजिल्लामा कार्यकर्ता फकाउँदै निधि

  • विजय कुमार सिंह

ढल्केवर, असोज २७ गते । नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका उपसभापति विमलेन्द्र निधिले कार्यकर्ता फकाउन थालेका छन् ।

केही दिन अघिमात्रै मधेस झरेका निधिले महाधिवेशनमा सभापति पदमा आफूलाई सहयोग गर्न कार्यकर्तालाई रिझाउने प्रयास थालेका हुन् ।

धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ का प्रत्यासी समेत रहेका निधिले महाधिवेशनको मुखमा आफ्नो गृहजिल्लामा दसैं, दीपावली तथा छठपर्वको अवसर पारेर शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई तीब्रता दिएका छन् ।

मंगलबार पूर्वनिर्धारित कार्यक्रम अनुसार निर्वाचन क्षेत्र नम्बर ४ मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले काँग्रेस नेतृत्वको लागि आफ्नो विकल्प नरहेको जिकीर गरे । 

यसअघिको १३ औं महाधिवेशनमा आफूले देउवालाई सहयोग गरेकोले आसन्न १४ औं महाधिवेशनमा सभापति पदमा आफूलाई साथ—सहयोग र समर्थन गर्न सभापति देउवालाई आग्रह गरिसकेको निधिले आफ्ना कार्यकर्ताहरुलाई सुनाए ।

आफूलाई सहयोग गर्न सबै नेताहरु सकारात्मक रहेको उनले बताए । हिमाल, पहाड र तराईवासीबीचको भावनात्मक सम्बन्ध जोड्न पनि सभापति पदमा उम्मेदवारी दिन लागेको उनको भनाइ थियो ।

महाधिवेशनमा आफूलाई सभापतिमा समर्थन गर्न समेत कार्यकर्ताहरुलाई उनले आग्रह गरे । ‘म सभापतिमा उम्मेदवारी दिँदैछु । मलाई सबैको सहयोग चाहिएको छ । पहाडका साथीहरुले पनि पूर्ण सहयोगको विश्वास दिलाउनुभएको छ । यसपछि मेरो अवसर आउँदैन । अबको पाँच वर्षपछि हुने १५ औं महाधिवेशनमा विश्वप्रकाश शर्मा, गगन थापालगायतका युवा पुस्ताहरुले काँग्रेसको नेतृत्व गर्नेछन्’, कार्यकर्तालाई सम्बोधन गर्दै निधिले भने ।

उपसभापति निधिले वडादेखि प्रदेश तहको सबै अधिवेशन सहमतिमा गर्न समेत पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे । अन्नपूर्ण पोस्ट