खेर जाने बिजुलीको बजार खोज्दै प्राधिकरण

काठमाडौं,बैशाख २४ गते । गत मनसुनमा झण्डै ५०० मेगावाट बराबरको बिजुली खेर गयो । मूल्यमा हिसाब गर्दा खेर गएको बिजुली मात्रै रु पाँच अर्ब बराबरको थियो । केही समयपछि नेपालमा पुनःमनसुन सुरु हुँदैछ । पानी पर्ने याम सुरु भएपछि नदी तथा खोलामा जल सतह बढ्न थाल्छ ।

त्यसबाट सञ्चालनमा रहेका सबै जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा बिजुली उत्पादन गर्न थाल्छन् । नेपालको कुल जडित क्षमता दुई हजार २०० मेगावाटको हाराहारीमा पुगेको छ । यस्तै, नेपालभित्र कूल खपत झण्डै एक हजार ६०० मेगावाट बराबर मात्रै छ ।

हिउँदमा कम हुने र वर्षामा खेर जाने प्रवृत्तिको अन्त्यका लागि सरकारले विशेष पहल गरिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको केही समय पहिलेको भारत भ्रमणमा ३६४ मेगावाट बिजुली बिक्रीका लागि सहमति भएको छ । बाँकी रहने बिजुली के गर्ने भन्नेबारेमा कुनै निर्णय भएको थिएन ।

देशभित्रै क्रमशः अन्य जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने चरणमा छन् । दोर्दी करिडोरको उक्त आयोजनाले परीक्षण उत्पादनका रुपमा ३० मेगावाट बिजुली प्रणालीमा जोडिसकेको छ । सोही करिडोरका अन्य आयोजना पनि केही समयभित्रै निर्माण सम्पन्न हुँदैछन् । यो समाचार कारोबार दैनिकमा छ ।