परीक्षा पास भएको साढे दुई महिनापछि न्यायाधीश नियुक्त

काठमाडौं, जेठ २९ । जिल्ला न्यायाधीशको परीक्षामा उत्तीर्ण भएका दुई जनालाई न्याय परिषद्ले नियुक्ति दिएको छ ।

लोकसेवा आयोगले लिएको परीक्षामा उत्तीर्ण भएका ओम बहादुर सोडारी र भुवन गिरीलाई जिल्ला न्यायाधीशमा नियुक्ति गरिएको हो ।

न्याय परिषद्का प्रवक्ता मान बहादुर कार्कीका अनुसार गत चैत ६ गते भएको अन्तिम परीक्षामा उत्तीर्ण भएका ओम बहादुर सोडारी र भुवन गिरीलाई नियुक्ति गरिएको हो । सोडारीलाई झापा जिल्ला अदालत र गिरीलाई नवलपुर जिल्ला अदालतमा कामकाज गर्ने गरी नियुक्ति दिइएको हो ।

करिब २ सय जनाले दिएको जिल्ला न्यायाधीशको परीक्षामा तीनजना मात्रै उत्तीर्ण भएका थिए ।

हाल नियुक्त पाएका ओम बहादुर सोडारी र भुवन गिरी सहित लिखित परीक्षामा चन्द्रकुमार पोखरेल पनि उत्तीर्ण भएका थिए ।

तर पोखरेल निलम्बनमा परेको कारण अन्तरवार्तामा सहभागी हुन पाएका थिएनन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्धसमेत भ्रष्टाचारको मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका थिए ।

उनले गरेको नीतिगत निर्णयको विषयलाई लिएर अख्तियारले मुद्दा दायर गरेको थियो ।

गत चैत ६ गते नै परीक्षामा उत्तीर्ण भए पनि उनीहरूलाई नियुक्ति दिइएको थिएन । जेठ २७ गते शुक्रबार बसेको परिषद्को बैठकले उनीहरूलाई नियुक्ति दिने निर्णय गरेको हो । परीक्षामा उत्तीर्ण भएको साँढे दुई महिनापछि मात्रै उनीहरुले नियुक्ति पाएका हुन् । रातोपाटी