काठमाडौँ, मंसिर ४ गते ।
जनमत पार्टीका अध्यक्ष सीके राउतले आफ्नै सांसद गोमा लाभ सापकोटालाई हटाउन चौथोपटक गरेको प्रयास पनि असफल हुने भएको छ।
राउतले सापकोटालाई हटाउन २०८० फागुन २७ देखि २०८१ कात्तिक २७ को बीचमा संसद सचिवालयमा चारपटक पत्र लेखिसकेका छन्।
उही बेहोराका पत्र पठाएर सांसद पदबाट हटाउन दबाब दिए पनि सभामुख देवराज घिमिरेले सूचना प्रकाशन गर्न मानिरहेका छैनन्।
संसद् सचिवालय स्रोतका अनुसार, पछिल्लो पत्रमा पनि सापकोटालाई हटाउनुपर्ने कुनै थप वस्तुगत आधार समावेश नभएकाले यसपालि पनि कारबाहीलाई मान्यता दिएर सूचना प्रकाशन हुने सम्भानाव कम छ।
राउतले सापकोटाविरुद्ध पार्टी हितविपरीत गतिविधि गरेको, पार्टी फुटाउने प्रयास गरेकोलगायत आरोप लगाएर संसद् सचिवालयमा पत्र पठाएका छन्।
‘सभामुखले उक्त पत्र अध्ययन गर्दा कारबाही गर्नुपर्ने कुनै ठोस कानुनी आधार नदेख्नुभएकाले राउतको अहिलेकै पत्रअनुसार सूचना प्रकाशित हुने सम्भावना छैन, ’ संसद सचिवालयका एक अधिकारीले भने, ‘अहिले सभामुखज्यू उपत्यकाबाहिर हुनुहुन्छ। औपचारिक निर्णय यही मंसिर ६ गते हुन्छ।’
सापकोटा जनमत पार्टीकी समानुपातिक प्रणालीबाट निर्वाचित सांसद हुन्।
पार्टीले कारबाही गरेमा सभामुखले सूचना टाँस गरेर पदबाट हटाइएको जानकारी सार्वजनिक गर्ने प्रतिनिधि सभा नियमावलीको व्यवस्था छ।