जनकपुर, पुस १५ गते ।
‘घुमौं मधेस, बुझौं मधेस’ भन्ने नारा आईतबार रौतहटमा गुञ्जियो । अंग्रेजी नयाँ वर्ष सन् २०२५ को पूर्व सन्धयामा मधेश प्रदेशका होटल तथा पर्यटन व्यवसायीहरुले रौतहटको पर्यटन विकासका लागि बहस चलाए । रौतहटका स्थानीय पर्यटकीय स्थलहरु भ्रमण गरे । नेपाल होटल पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशले आईतवार रौतहट पुगेर पर्यटन क्षेत्रको विकासका लागि सरोकारवालाहरुसंग सो बहस र पैरवी गरेका हुन् ।

रौतहटमा पाँचौं बैठक, चार स्थानको भ्रमण
प्रत्येक महिना महासंघले फरक फरक जिल्लामा गएर मधेश सरकारका प्रतिनिधी, स्थानीय सरकार प्रतिनिधी, राजनितिक दलका प्रतिनिधी र प्रहरी प्रशासनको उपस्थितीमा पर्यटन क्षेत्रको विकासका लागि बहस र पैरवी गर्दै आएका छन् । यसअघि महोत्तरी, बारा, सिरहा, सर्लाही र आईतवार पाँचौ जिल्लाको रुपमा रौतहटमा मधेश प्रदेशको पर्यटन विकासबारे अन्तरक्रिया गरिएको थियो । अन्तरक्रिया अघि टोलिले रौतहटको तीलेश्वर पार्क, निजानन्दधाम, शिवनगर मन्दिर, दुर्गाभगवती मन्दिरको स्थलगत भ्रमण गरिएको थियो । सो भ्रमणमा पर्यटन व्यवसायी, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, स्थानीय सरोकारवालहरुको सहभागिता थियो ।

रौतहटका यस्ता छन् पर्यटकीय स्थलहरु :
रौतहट मधेसको मध्य भागमा पर्छ । यहाँका घुम्नु पर्ने स्थानहरुमा विविधता पाइन्छ । जल यात्रा गर्ने बागमती नदीको नुनथरदेखि शाकाहारी गाउँ निजानन्द धाम यही पर्छ । धार्मिक, ऐतिहासिक, पुरातात्विक पर्यटकीय स्थानहरुले रौतहट भरिभराउ छन् । तर, पर्यटन क्षेत्रमा सरकारको ध्यान जान सकेको छैन । विदेशी पर्यटकहरुको रोजाईमा पनि पर्छ यहाँका पर्यटकीय स्थलहरु । राणा प्रधानमन्त्री जंगबहादुर पनि रौतहटमा रहेको झरनामा मनोरञ्जन गर्न गएको इतिहास छ, जंगे झरना ।

नुनथरमा आउँछन् विदेशी पाहुना
रौतहटमा प्रदेश कै उत्कृष्ठ पर्यटकीय स्थलको रुपमा रहेको नुनथर क्षेत्र छ जहाँ रहेको बागमती नदीमा जल यात्रा गर्ने व्यवस्था छ । लामो समयदेखि बिदेशी पाहुनाको समेत पर्यटकीय क्षेत्रको रुपमा परिचित हुँदै आएको नुनथर क्षेत्र हो ।

सर्लाही, मकवानपुर, सिन्धुली र रौतटह जिल्लाको संगमस्थलको रुपमा रहेको नुनथरमा पिकनिक खानेको ठूलो भीड लाग्ने गर्दछ । सर्लाही र रौतहट जोड्ने बागमती नदीको झोलुंगे पुलले त्यस क्षेत्रको झन् शोभा बढाएको छ । नुनथरमा तराइका ८ जिल्ला र भारतबाट समेत पिकनिक खान आउने गरेका छन् । नुनथर क्षेत्र चन्द्रपुर नगरपालिका १ बागमती नदीको तिरमा पर्दछ ।
पुरै गाउँ नै शाकाहारी
रौतहटको अर्को गन्तव्यको रुपमा रहेको छ चन्द्रपुर नगरपालिका ९ नजरपुरस्थित रहेको निजानन्द धाम । नेपाल मै परिचित कृष्ण प्रणामीको केन्द्रबिन्दु रहेको नजरपुर पर्यटकको आकर्षक स्थलको रुपमा रहेको छ । त्यहाँका करिब ३ सय भन्दा बढी घरधुरीमा बाख्रा, कुखुरा, बंगुरलगायत मासुका लागि जनावर पाल्ने गरिँदैन । शुद्ध शाकाहारीको बस्ती रहेको नजरपुर अहिले आम नागरिकको घुम्ने थलो बनेको छ ।

ऐतिहासिक जंगे झरना
रौतहटको अर्को पर्यटकीयस्थल भनेके जंगे झरना पनि हो । चन्द्रपुर नगरपालिका, २ हात्तिदमार क्षेत्रमा रहेको उक्त झरना अहिले पर्यटकीय नया गन्तव्य बनेको छ । महेन्द्र राजमार्गबाट करिब १० किलोमिटर उत्तरमा रहेको उक्त झरनामा नुहाउने र पिकनिक खानेको भीड लाग्ने गरेको छ । राणाकालीन समयमा जंगबहादुर राणाले मनोरञ्जन स्थलको रुपमा प्रयोग गरेका थिए ।

शहीद स्मृति पार्क
चन्द्रपुर नगरपालिका, २ मै रहेको अर्को शहीद स्मृति पार्कमा पनि आगन्तुकको बाक्लो भीड लाग्ने गरेको छ । महेन्द्र राजमार्ग सँगै जोडिएको उक्त शहिद स्मृति पार्कमा विभिन्न जिल्लाबाट पिकनिक तथा संघ संस्थाको कार्यक्रमहरू गरिँदै आएको छ । शहिद स्मृति पार्क शान्ति मन्त्रालयको सहयोगमा करिब ९ वर्ष अगाडि निर्माण गरिएको हो ।
सन्तपुर नमुना बस्ती
सन्तपुर नमुना बस्ती पनि पर्यटकको आकर्षण स्थल हो । चन्द्रपुर नगरपालिका ८ स्थित सन्तपुरमा रहेको उक्त नमुना बस्ती कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) को पहलमा निर्माण गरिएको थियो । उक्त नमुना बस्तीमा अवलोकनको लागि टावर समेत निर्माण गरिएको छ । बस्ती हेर्नको लागि दैनिक ठूलो संख्यामा पर्यटक आउने गरेका छन् ।

बरहवा ताल
गौरमा रहेको बरहवा ताल पनि आगन्तुकको आकर्षक स्थलको रुपमा परिचित छ । तालको अवलोकन तथा अध्ययनका लागि भारतीय नागरिकदेखि विभिन्न जिल्लाबाट पर्यटक आउने गरेका छन् ।
शिव मन्दिर
रौतहटको मध्यभागमा रहेको गरुडा नगरपालिकास्थित शिव मन्दिर धार्मिक पर्यटकको संगम स्थल हो । बेला बखत पूर्व राजा ज्ञानेन्द्र शाहले समेत दर्शन गर्दै आएको उक्त शिव मन्दिरमा खास गरी साउन महिनाभरि भक्तजनको भीड लाग्ने गरेको छ ।

यी पनि छन्…
धार्मिक स्थलको रुपमा रहेको चन्द्रपुर नगरपालिका १ स्थित पौराइ ब्रह्म बाबास्थल, चन्द्रपुर नगरपालिका ३ स्थित रहेको कालापानी क्षेत्र, चन्द्रपुर नगरपालिका ६स्थित डाबरी क्षेत्र, गडीमाइ नगरपालिकास्थित समनपुर, गडीमाइ लगायतका ठाउँहरू पनि पर्यटकको लागि घुम्ने थलो हो ।
पर्यटन क्षेत्रको विकासमा सरकारको ध्यान जान जरुरी
व्यवसायीहरुले होटल तथा पर्यटन क्षेत्रको विकासका लागि देखेको सपना सकार गर्न सरकारले सहयोग गर्नु पर्ने नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशका अध्यक्ष हीरालाल गौतमले बताए । त्यसमा नीजि क्षेत्र हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरि महासंघका महासचिव वैकुण्ठ सापकोटाले मधेसमा आएका पर्यटकहरुलाई कम्तिमा तीन दिनसम्म होल्ड गर्ने वातावरण निर्माण गर्न सरकारसंग माग राखे । पर्यटन व्यवसायी महासंघका संरक्षक सल्लाहाकार बिजय झुनझुनवालाले नीजि क्षेत्रले पर्यटन क्षेत्रमा ठूलो लगानी गरेको भएपनि सरकारी स्तरबाट ठोस योजनाबद्ध काम नभएको बताए ।

स्थानीय सरकार के गर्दैछन् ?
रौतहटका स्थानीय सरकार प्रमुखले जिल्लामा रहेका मठमन्दिर तथा पर्यटकीय स्थानको विकासका लागि काम गरिरहेको बताएका छन् । तर, प्रदेश र संघीय सरकारले ध्यान नदिदाँ काम गर्न बजेटको अभाव भइरहेको गुनासो गरेका छन् ।
गरुडा नगरपालिकाका मेयर कन्तमणी जैसवालले शिवनगर मन्दिर निकै पुरानो भएको र यसको प्रबद्र्धनका लागि सरकारको ध्यान नगएको बताए । आफ्नो कार्यकालमा नगरबाट बजेट विनियोजन गरेर काम गरिरहेको जनाए ।
त्यसैगरी दुर्गा भगवति गाउँपालिकाका अध्यक्ष शम्भू सिंहले रौतहटमै दुर्गा भगवति मन्दिर १ सय ५० वर्ष पुरानो रहेको बताए । उनले आफ्नो कार्यकालमा मन्दिरको संरक्षण, सम्बद्र्धन र विकासका लागि सक्दो काम गरिरहेको बताए । यस काममा मधेस सरकारको पनि ध्यान जान जरुरी रहेका जनाए ।

रौतहटका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीको समस्या आफ्नै किसिमको रहेको छ । २०४६ पछि जिल्ला स्तरमा कर्मचारीहरुलाई काम गर्न स्थानीय राजनीतिक दलका नेता तथा प्रतिनिधिहरुले अवरोध गर्दै आएका सुनाए । स्वार्थ बोकेर कार्यालयमा आउने गाउँ तहका नेतादेखि ठूला नेताहरुले कर्मचारीहरुलाई अनाहकमा धम्काउने गरेको उनले सुनाए ।
पर्यटन क्षेत्रको विकासका लागि प्रतिबद्ध छौं : पर्यटन मन्त्री मियाँ
मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल अली मियाँले आउँदो बजेटमा मधेस प्रदेशको पर्यटन प्रबद्र्धनका लागि बजेट विनियोजन गर्ने आश्वासन दिए ।

रौतहट जिल्ला पर्यटकी सम्भावना बोकेको जिल्ला रहेको रौतहटको क्षेत्र नम्बर ४(क) का प्रदेश सभा सदस्य तथा पूर्व पर्यटन मन्त्री युवराज भट्टराईले बताए । उनले धेरै पर्यटकीय स्थानहरुको विकासका लागि आपूm मन्त्री हुँदा ती स्थानहरुको प्रबद्र्धन गर्न करोडौं बजेट विनियोजन गरिएको बताए । तर, काम भन्दा कम बजेट रहेकोले आउँदो आर्र्थिक बर्षमा थप बजेट विनियोजन गर्न पहल गरिरहेको बताए ।

घुमौं मधेस, बुझौं मधेस अभियानका संयोजक विकास ठाकुरले पर्यटक क्षेत्रको विकासका लागि नीतिको अभाव रहेको सुनाए । सरकार र पर्यटन व्यवसायीसंग मिलेर मधेसको पर्यटन क्षेत्रको विकासका लागि काम गर्ने प्रतिबद्धता जनाए । यसमा नेपाल पत्रकार महासंघ रौतहटका शाखा अध्यक्ष सञ्जय कार्कीले पर्यटन क्षेत्रको विकासका लागी संचारक्षेत्रबाट भरपुर सहयोग भइरहेको जनाए ।