द पब्लिक टुडे
गौशाला, बैशाख १ गते ।
महोत्तरीको गौशाला नगरपालिकाले नेपाली यू–१९ महिला क्रिकेट टिमकी कप्तान पूजा कुमारी महतोलाई नगरपालिकाको मानार्थ खेलकुद अधिकृत पदमा नियुक्त गरेको छ ।
राष्ट्रिय महिला क्रिकेट टोलीकी उदयीमान खेलाडी तथा १९ वर्षमुनिको नेपाली महिला क्रिकेट टिमकी कप्तान महतोलाई नगरपालिकाले मानार्थ खेलकुद अधिकृत पदमा नियुक्त गरेको हो । नगरपालिका वडा नं. ९ निवासी महतो गौशालाकै गौरवमयी छविका रूपमा उभिएकी छन् ।
नगरपालिकाको शिक्षा तथा खेलकुद शाखामा मानार्थ खेलकुद अधिकृत पद सृजना गरि उनलाई अधिकृतस्तर छैठौं श्रेणीअनुसारको पारिश्रमिक प्रदान गर्ने निर्णय गरिएको हो । सो निर्णयलाई नगरपालिकाले युवा प्रतिभाको सम्मान र प्रेरणाका रूपमा व्याख्या गरेको गौशाला नगरपालिकाका मेयर डा. दिपेन्द्र महतोले बताए ।
उनले भने, ‘पूजा महतोले देशकै गौरव बढाउने काम गरेकी छन् । उनी हाम्रो नगरको मात्रै नभई सम्पूर्ण मधेशको शान बनेकी छन् । यस्तो प्रतिभालाई संस्थागत सम्मान दिइनुपर्छ भन्ने सोचले हामीले यो निर्णय गरेका हौं ।’
मेयर डा. महतोका अनुसार पूजा महतोले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाल प्रतिनिधित्व गर्दै महिलाहरूका लागि प्रेरणाको स्रोत बनेकी छन् । ‘हाम्रो नगरबाट राष्ट्रिय स्तरमा पुग्ने महिला खेलाडी निकै थोरै छन् । पूजा जस्ती खेलाडीले समाजमा सकारात्मक सन्देश दिएको छ । त्यसैले हामीले उनलाई नगरपालिका तहमै सम्मान गर्न चाह्यौं,’ मेयर महतोले थपे ।
मेयर डा. महतोले खेलकुद क्षेत्रको विकास र प्रतिभाशाली खेलाडीहरूलाई प्रोत्साहन गर्न गौशाला नगरपालिका सदैव प्रतिबद्ध रहेको पनि बताए । नगरपालिकाले अन्य खेलाडीहरूका लागि पनि पुरस्कार, छात्रवृत्ति तथा विशेष सहयोग कार्यक्रम ल्याउने तयारी गरिरहेको बताइएको छ । पूजा महतोको यो नियुक्तिलाई सामाजिक सञ्जालमा व्यापक समर्थन र प्रशंसा प्राप्त भएको छ । स्थानीय युवा, खेलाडी र खेलप्रेमीहरूबीच यस निर्णयले उत्साह थपेको छ ।
अठार वर्षे पूजाको क्रिकेट करिअर भर्खरै सुरु हुँदै छ । उनले क्रिकेटमा भविष्यको लामो यात्रा तय गर्न बाँकी नै छ । हुन पनि फरासिलो स्वभावकी पूजाले खेलकुदको कूटनीति त्यति बुझेकी छैनन् ।
पूजा भन्ने गर्छिन्, “धेरै कुरा सिक्न बाँकी छ । सिक्दै अगाडि बढ्ने हो ।” यद्यपि पूजाले आफ्नो जीवनको लक्ष्य क्रिकेटलाई बनाइसकेकी छन् ।
क्रिकेटबाटै नाम कमाउने र देशको लागि योगदान दिने अनि आर्थिक स्थिति सुधार्ने उनको स्पष्ट योजना छ । त्यसका लागि आफूलाई कसरी तयार गर्ने खाका पनि पूजाले बनाइसकिन् । सिनिअर राष्ट्रिय टोलीबाट पनि विश्वकप छनोट हुने पूजाको दीर्घकालीन लक्ष्य छ । सिनिअर टोलीका खेलाडीहरू क्षमतावान् भएको बताउने पूजा अहिलेबाट नै योजना बुन्दै गए सिनिअर टोलीले पनि चाँडै नै विश्वकप खेल्न सक्ने विश्वास गर्छिन् । उनको ठूलो लक्ष्य भने परिवारको रेखदेख आफैँ गर्नु हो ।