शिक्षाको मन्दिरमै जुवाडेको आतंक, जाडरक्सीको अड्डा बन्दा पढाई संकटमा

जुरी माई जनता आधारभूत विद्यालय



द पब्लिक टुडे समाचारदाता

बर्दिवास, जेठ ४ गते ।

भनिन्छ, शिक्षा जीवनको मेरुदण्ड हो । तर महोत्तरीको बर्दिबास नगरपालिका–१२, बिजलपुराको जुरी बजारस्थित जुरीमाईजनता आधारभूत विद्यालय शिक्षाको केन्द्रनभई विकृति, अव्यवस्था र राजनीतिक लफडाको अखडा बनेको छ । करिब १० कठ्ठा क्षेत्रफलमा फैलिएको विद्यालयमा दलित, गरिब र विपन्न वर्गका करिब एक सय बालबालिका अध्ययनरत छन् । तर विद्यालयको अवस्था यति दयनीय छ कि त्यो “पाठशाला’ नभई मधुशाला’ जस्तो देखिन्छ ।

विद्यालयको चारैतिर घेराबेरा नभएकाले गाईबस्तु र बाख्राहरू आरामले कक्षा कोठामा प्रवेश गर्छन् । विद्यालय परिसर जाडरक्सी सेवन गर्ने, जुवातास खेल्ने, चुरोट खाने र गुट्का थुक्ने अड्डा बनेको स्थानीयको गुनासो छ । विद्यालयको विषयमा व्यापक जनगुनासो बढेपछि पत्रकार टोलीले बुधबार बिहानै विद्यालयमा रिपोर्टिबका लागि स्थलगत अवलोकन गर्दा, विद्यालय ६ः२० बजे मात्र खुल्यो ।

नियमित तालिका अनुसार ६ बजे खोलिनुपर्ने स्कूलमा प्रधानाध्यापक वीरेन्द्र साह ६ः५२ मा मात्रै मोटरसाइकल चढेर आए । कक्षा ६ः३० मा सुरु हुनुपर्ने हो, तर त्यो समयमा शिक्षक नै उपस्थित थिएनन् ।  विद्यार्थी शिक्षकभन्दा पहिले स्कूल आएका थिए, र शिक्षकभन्दा पहिले बाख्राहरू स्कुल प्रवेश गरेका थिए । प्रार्थना कार्यक्रमसमेत गरिएको थिएन । “विद्यालय समयमा खुल्दैन । कक्षा सञ्चालन ढिला गरी हुन्छ ।

यसले विद्यार्थीको पठनपाठन प्रभावित बनेको छ । शिक्षकभन्दा पहिले विद्यार्थी आएको थियो। त्योभन्दा पहिले गाउँबाट बाख्रा चर्न स्कुल प्रवेश गरिसकेको थियो। स्कुलमा भेट्नुभएका स्थानीय रामबालक गुप्ताले गुनासो गर्दै भने, “हामी पनि स्कुल खुलेको छ कि छैन भनेर हेर्न आएका छौँ तर स्कुल त समयमा खुलेकै छैन ।
बच्चा आएका छन् तर स्कुलमा शिक्षक पनि आउनुभएको छैन ।” बच्चा आउनुभन्दा पहिला स्कुल खोलेर सरसफाइ गर्नु पर्छ ।

अनि विद्यार्थीलाई पढाउनु पर्छ तर यहाँ बच्चा आउनुभन्दा ढिला कार्यालय सहयोगी र शिक्षक आउने गरेको अर्का अभिभावक महेश चौधरीले बताए । उनले गुनासो गर्दै भने, “समयमा स्कुल नखुल्दा बच्चा स्कुलमा आएर सर, मिसको प्रतीक्षा गर्छन्। यो त राम्रो कुरो होइन्। विद्यालयमा सधैँ यस्तै लापर्वाही भइरहेको छ हजुर ।”
 प्रधानाध्यापक वीरेन्द्र साहले आफू बाटोमा आउँदा अभिभावकसँग विद्यार्थी भर्नाबारे कुरा गर्न लाग्दा ढिलो भएको स्वीकार गरे ।

पिउने पानीको चरम अभाव, खाजा वितरण ठप्प

 विद्यालयमा ८ वटा धारा जडान गरिएको भए पनि कुनै धारामा पानी आउँदैन । चपाकलको हेड जाडरक्सी सेवन गर्नेहरूले तोडेर फालेका छन् । बोरिब पनि छ, तर विधुत मिटर र तार चोरी भएका कारण संचालनमा छैन । बालबालिकाहरू पानी खान बजार र नजिकैको मन्दिर जान बाध्य छन् । त्यहाँ पनि पानी सहज नभएको प्रधानाध्यापक साहले बताए । “स्कुलपरिसर घेरिएको छैन । चापाकलको हेड नै जाडरक्सी खानेले तोडेर फालिदियो”, उनले भने । स्कुलमा खानेपानीको अभावले गर्दा वैशाख १९ यता बालबालिकालाई खाजा खुवाउन नसकिएको पनि उनले सुनाए ।

 तीन कक्षासम्म पढाइ हुने विद्यालयमा ३ वटा कक्षा कोठा छन् । तर कक्षा ३ मा दाउरा, रड, जस्तापात थन्क्याइएको छ । विद्यार्थी अंकित शर्मा भन्छन्, “कक्षामा खेल्दा चोटपटक लाग्छ, हातखुट्टा चुँडिन्छ ।” विद्यालय कक्षालाई गोठसरह बनाइएको अर्का एक विद्यार्थीले टिप्पणी गरे ।

राजनीतिक खिचातानीले शिक्षा चौपट

 विद्यालयमा राजनीतिक हस्तक्षेप र खिचातानीका कारण अवस्था झन जटिल बनेको स्थानीय अभिभावकको आरोप छ । अभिभावक सुमिन्त्रा देवी भन्छिन्, “धनिमनीले बच्चा बोर्डिब स्कूलमा पढाउँछन्, हामी गरिबको बच्चा सरकारी स्कुलमा । तर स्कुल त रक्सीको भट्टी बनेको छ । स्कूलको फिल्डमा फुटेको सिसाले मेरो नातिको खुट्टा काटियो ।” प्रधानाध्यापक वीरेन्द्र साह भन्छन्, “स्कूल नजिकै जुडी बजार छ । आइतबार र बुधबार बजार लाग्छ । त्यही भीडबाट आउने मानिसहरूले मासु, रक्सी लिएर स्कुलमै खान्छन् ।

oplus_0

चुरोट पिउँछन्, गुट्का खाएर ब्रन्डामै थुक्छन् । दिसापिसाब गरिदिन्छन् ।” उनका अनुसार विद्यालयमा यत्रतत्र रक्सीका बोतल, चुरोटका टुटा भेटिन्छन्, जसले स्कुल दुर्गन्धित बनेको छ । चुरोटका ठुटाले स्कुल शैक्षिक वातावरण बिथोलिएको उनले स्वीकारे। विद्यालयको समस्याबारे बुझ्न फोन गर्दा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इसराफिल साफीको मोबाइलमा सम्पर्क हुन सकेन ।

यता, बर्दिबास नगरपालिका–१२ का वडाध्यक्ष रामकिशोर साहले समाज अग्रसर भए मात्रै विद्यालय सुधार हुने बताए । उनले भने, “स्कुलमा भवन निर्माण, घेरबार, बगैँचा निर्माण जस्ता काम गर्नुपर्ने छ । शिक्षाको बजेट सबै नगरप्रमुखले चलाउनुहुन्छ । उहाँले बजेट दिइरहनुभएको छैन । विद्यालय विकासमा नगरप्रमुख पनि बाधक बन्नुभएको जस्तो लाग्छ ।” विद्यार्थीलाई सधैँ खाजा खुवाउनुपर्ने बताउँदै वडाध्यक्ष साहले थपे, “यदि स्कुलले खाजा खुवाउँदैन भने खाजाका बारे अनुगमन गर्ने नगरपालिकाको शिक्षा समिति कहाँ हरायो। विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकले स्कुल भद्रगोल हुँदा के हेरेर बसिरहनुभएको छ ?

वडाध्यक्ष एक्लै केही गर्न सक्दैन । सबैको पहलले मात्रै स्कुलको अवस्था सुधार हुन्छ ।” आउँदो आर्थिक वर्षमा विद्यालय घेरबार, अधुरा भवन निर्माणका लागि बजेट नगरपालिकासँग माग गर्ने उनले बताए । यता, बर्दिबास नगरपालिकाकाका विद्यालय निरीक्षक रोमन निरौलाले विद्यालय सुधार गर्न सबै पक्ष जिम्मेवार बन्न आग्रह गरे। “बर्दीबासमा ९० वटा निजी र सामुदायिक स्कुल छन्। स्कुल चलाउन प्रधानाध्यपाक र विद्यालय व्यस्थापन समिति छन्। स्कुलको समस्याबारे हामी गम्भीर छौँ” उनले भने ।

यस्तै बर्दिबासका नगरपालिका नगरप्रमुख प्रह्लादकुमार क्षेत्रीले सीमित स्रोत सधानको अधिकतम परिचालन गरेर काम गरिरहेको बताए । “शिक्षा क्षेत्रको समस्या पहिचान गरेर माग, आवश्यकताका आधारमा बजेट विनियोजन गरेर काम गरिरहेका छौँ । व्रmमिक रूपमा सबै स्कुलको समस्या समाधान गर्दै जाने छौँ” नगरप्रमुख क्षेत्रीले भने ।

Scroll to Top