“देशका विभिन्न भागमा जमिन भासिने समस्या तीव्र, विज्ञले सतर्कता अपनाउन सुझाए”



काठमाडौँ, जेठ ७ गते ।

कास्कीको पोखरा महानगरपालिका–१६ स्थित अर्मलासहित विभिन्न क्षेत्रमा २०७० साल यता सिङ्कहोल अर्थात् जमिन भासिने र गहिरो खाल्डो पर्ने सिलसिला चलिरहेको छ । कतिपय आवासीय क्षेत्रमै पनि खाल्डो परेपछि स्थानीयवासी त्रसित छन् ।

पोखरा मात्रै होइन, काठमाडौँकै टोखा नगरपालिका–११ स्थित वनदेवीमा २०८१ साउनमा जमिनको भित्री भाग भासिएपछि छ वटा घर जोखिममा परेका थिए तर सामान्य मर्मत र सडक छेउमा पर्खाल लगाएर स्थानीयवासी घरमा पुनः फर्किएका छन् । पोखरा महानगरपालिका–१६ का अध्यक्ष अमृत शर्मा तिमिल्सिनाका अनुसार जमिन भासिने क्रम तत्कालका लागि समस्या समाधान भएको छ । उहाँले कालीखोलामा तटबन्ध निर्माण गरेपछि केही नियन्त्रण भएको बताए ।

उहाँले भने, “तर पहिले बढी प्रभाव परेको दक्षिणतर्फको भागमा आंशिक समस्या देखियो । बस्ती केही पर छ । त्यतिबेला भौगर्भिक अध्ययन र परीक्षण गर्न सकिएन तर काली खोलामा तटबन्ध लगाए जस्तै धार्नी खोलामा पनि पाँच वटा ‘ड्याम’ बनाउने योजना छ । बस्ती थोरै भए पनि स्थानीय त्रसित छन् ।”

उहाँका अनुसार महानगरले जमिन भासिएको क्षेत्रमा के गर्ने भन्ने विषयमा निर्णय लिन र कानुनी एवं नीतिगत व्यवस्था गरेर त्यो क्षेत्रलाई अधीनमा राख्ने काम गरेको छैन ।

त्यसै गरी टोखा नगरपालिका–११ का अध्यक्ष घनश्याम खड्काले वनदेवीमार्गमा बालुवा र माटो बग्दै गएपछि गत वर्ष साउनमा उक्त स्थानको भित्री सतह खोक्रो भएको बताए । उहाँले पाँच वटा घरमा सामान्य क्षति भएको बताउँदै अहिले पनि एउटा बरन्डामा रहेको सिङ्कहोलबाट मुनि पानी बगेको आवाज सुनिने जानकारी दिए। उहाँले भने, “मुनि कहाँबाट पानी जान्छ, थाहा छैन तर आवाज सुनिन्छ । अहिले समस्या छैन । सबै घरधनी आआफ्नो घरमा फर्किनुभएको छ तर अब आवासीय क्षेत्र निर्माण गर्दा अध्ययन गर्नुपर्ने देखियो ।”

अध्ययन आवश्यक : विज्ञ

वैशाख १९ गते मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६, गैरीगाउँमा सडकमा गुडिरहेको गाडी जमिनमा भासिएको थियो । गाडी नै दलदलमा फसे पनि चर्चामा रहेको यो विषयले आवासीय क्षेत्र विस्तार गर्दा र अन्य संरचना निर्माण गर्दा भौगर्भिक अध्ययन गर्न सचेत गराइएको छ ।

वरिष्ठ भूगर्भविद् प्राडा मेघराज धिताल र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत खानी तथा भूगर्भ विभागका महानिर्देशक मोनिका झाले खतरापूर्ण क्षेत्रमा भौगर्भिक अध्ययनबिना निर्माण कार्य गरिए परिणाम घातक हुने बताए ।

झापाका भद्रपुर र दमक, मोरङको विराटनगर, सुनसरीको धरान, सिन्धुली, धनुषाको जनकपुरधाम, महोत्तरीको बर्दीबास र जलेश्वर, पर्साको वीरगन्ज, मकवानपुरको हेटौँडा, काठमाडौँ र नुवाकोटमा जमिन भासिने जोखिमयुक्त भौगर्भिक संरचनाको अध्ययन सम्पन्न भइसकेको छ ।

त्यसै गरी चितवनको भरतपुर, कास्कीको पोखरा, तनहुँको दमौली, रुपन्देहीका बुटवल र भैरहवा, दाङको तुलसीपुर, बाँकेको नेपालगन्ज, बर्दियाको गुलरिया, सुर्खेत, कैलालीका टीकापुर र धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा पनि जमिन भासिने खतराबारे अध्ययन पूरा भएको छ ।

प्राडा धितालले जमिन भासिने समस्या देशका धेरै ठाउँमा रहेको प्रस्ट पार्दै जोखिम नभएका ठाउँमा बस्ती विस्तार गर्ने गरी सरकारको नीति बन्नुपर्ने बताए । उहाँले भने, “पोखराको अर्मला क्षेत्रमा बस्ती छ । काठमाडौँमै पनि जमिन भासिने खतरा छ । त्यसैले भौगर्भिक अध्ययन गरेर मात्रै भौतिक संरचना निर्माण गर्नु पर्छ । खतरापूर्ण क्षेत्रको पहिचान गर्नु पर्छ । यदि अध्ययनबिना निर्माण गरिए त्यसले भविष्यमा गम्भीर परिस्थिति निम्तिन्छ ।” गोरखापत्र

Scroll to Top